बाजुरा र हुम्लाको सीमा विवाद : गोपाल हमालको टोली पुग्दा झडप, प्रहरीसहित पाँच जना घाइते

बाजुरा र हुम्लाको सीमा विवाद : गोपाल हमालको टोली पुग्दा झडप, प्रहरीसहित पाँच जना घाइते

बाजुरा : बाजुराको हिमाली गाउँपालिका-३ लाम्पाटामा सीमा विवाद र अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर भएको झडपमा परी जनप्रतिनिधि र प्रहरीसहित पाँच जना घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश सरकारको मातहतमा निर्माण हुन लागेको प्रहरी चौकीको विषयमा हुम्लाका स्थानीयले अवरोध गरेपछि स्थिति तनावपूर्ण बनेको हो।

प्रहरी चौकी बिच्छियाका अनुसार विवाद जेठ ३ गतेदेखि नै सुरु भएको थियो। लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माणका लागि राखिएका निर्माण सामग्रीहरू हुम्लाका स्थानीयले ‘यो जमिन हाम्रो हो र हामीले पहिलेदेखि नै प्रयोग गर्दै आएका हौँ’ भन्दै फालेका थिए।

त्यसपछि हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लको समन्वयमा जेठ ४ गते प्रहरी सहायक निरीक्षक चित्र बहादुर मल्लको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

जेठ ५ गते बिहान १० बजे प्रहरी टोलीले दुवै पक्षलाई राखेर सम्झाइबुझाई गरी स्थिति सामान्य बनाउने प्रयास गरिरहेकै समयमा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको ४० जनाको ‘हाम्रो सुदूरपश्चिम हामी चिनाऔँ’ अभियानको टोली त्यहाँ पुगेको थियो।

भ्रमण टोलीले सो क्षेत्रमा ड्रोन उडाएर भिडियो खिच्न थालेपछि हुम्लाको खार्पुनाथ गाउँपालिका-२ थाली गाउँका करिब २५० देखि ३०० जना स्थानीय आक्रोशित भएका थिए। उनीहरूले ‘बाजुराको टोली जग्गा कब्जा गर्न आयो’ भन्ने बुझाइका कारण आक्रमण र हातपात सुरु गरेको प्रहरीले जनाएको छ।

यस विषयमा बुझ्न जिल्ला प्रहरी कार्यालय हुम्लासँग सम्पर्क गर्दा त्यहाँका सूचना अधिकारीले बाजुरासँग बुझ्न आग्रह गरे। बाजुरा सुदूरपश्चिम प्रदेशमा पर्छ भने हुम्ला कर्णाली प्रदेशमा पर्छ।

पाँच जना घाइते, अवस्था सामान्य
झडपमा परी बाजुराको हिमाली गाउँपालिका-३ का ३४ वर्षीय वडा सदस्य पेमा गारा गुरुङको ढाड र गर्धनमा चोट लागेको छ भने वडा सस्दय ३३ वर्षीया लक्ष्मी गुरुङको पनि गर्धनमा चोट लागेको छ।

यस्तै २४ वर्षीय स्थानीय मिनु कुँवरको छाती र डाढमा चोट लाग्दा प्रहरी चौकी बिच्छियामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामीको ढाड र गर्धनमा चोट लागेको छ।

त्यसैगरी हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापाको पनि ढाड र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं इन्स्पेक्टर नरेश बहादुर शाहीले जानकारी दिए।

शाहीका अनुसार मेयर हमालको टोलीलाई नै लक्षित गरेर आक्रमण भएको नभई, स्थानीयहरूबीचको सीमा विवादका बीच ड्रोन उडाउँदा उत्पन्न भएको गलत बुझाइले झडप निम्तिएको हो।

‘मेयर साबको टोलीमाथि सिधै हातपात भएको होइन, तर ड्रोन उडाउँदा हुम्लाका स्थानीयलाई बाजुराको टोलीले जग्गा मिच्न खोजेको भान भयो र झडप सुरु भयो’, इन्स्पेक्टर शाहीले उकेरासँग बताए।

हाल घाइतेहरूलाई लिएर प्रहरी टोली सुरक्षित स्थानतर्फ फर्किएको छ। लामो समयदेखि रानीसैन, च्याचौर र लाम्पाटा क्षेत्रलाई लिएर बाजुरा र हुम्लाबीच प्रशासनिक र सीमा विवाद रहँदै आएको छ।

नापी र लालपुर्जाअनुसार यो क्षेत्र बाजुराकै भए पनि हुम्लाका स्थानीयले यसलाई आफ्नो दाबी गर्दै विकास निर्माणमा अवरोध पुर्याउँदै आएका छन्।

जेठ ६, २०८३ बुधबार ०९:१४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।