दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
वीरगञ्ज : पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी तथाराष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका नेपालका संयोजक दुर्गाप्रसाद प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
विद्युतीय कारोबार ऐन र राज्य विरुद्धको कसुरमा तीन दिन म्याद थप गरेर अनुसन्धान गर्न पर्सा प्रहरीले मंगलबार अदालत पेश गरी म्याद थप गराएको हो। संयोजक प्रसाईंलाई प्रहरीले सोमबार राति वीरगञ्जस्थित सिद्धार्थ दियालो होटलबाट ‘जरुरी पक्राउ पुर्जी’ दिएर नियन्त्रणमा लिएको थियो।
सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक नैतिकता र शिष्टाचारविपरीत घृणा फैलाएको तथा साम्प्रदायिक सम्बन्धमा खलल पुर्याउने खालका अभिव्यक्ति दिएको आरोप प्रहरीले उनीमाथि लगाएको छ।
पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले संयोजक प्रसाईंले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत विभिन्न किसिमको अभिव्यक्तिहरू दिने क्रममा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्ध कसैप्रति घृणा वा द्वेष फैलाउने र विभिन्न जातजाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्नेलगायत अभिव्यक्ति दिएकाले नियन्त्रणमा लिएको जानकारी दिए।
“नेपाल सरकारको काम कारबाहीको सम्बन्धमा कुनै किसिमबाट निराधार वा अप्रमाणित कुरा देखाई नेपाल सरकारप्रति घृणा, द्वेष वा अवहेलना गर्ने गरी विभिन्न किसिमको अमर्यादित तथा अस्वास्थ्य आलोचनात्मक अभिव्यक्तिहरू दिएकाले सोमबार वीरगञ्जको सिद्धार्थ दियालो होटलबाट रातको समयमा नियन्त्रणमा लिएर उहाँलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन र राज्य विरुद्धको कसुरमा सम्मानित पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको छ,” उनले भने।
जेठ ५, २०८३ मंगलबार २१:२४:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।