देशका विभिन्न स्थानमा १८ विपद्जन्य घटना: २४ घण्टामा ३ जनाको मृत्यु, ७७ लाख बढीको क्षति

देशका विभिन्न स्थानमा १८ विपद्जन्य घटना: २४ घण्टामा ३ जनाको मृत्यु, ७७ लाख बढीको क्षति

काठमाडौं : पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका १८ वटा विपद्जन्य घटनामा परी तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनाहरूबाट अनुमानित ७७ लाख ९२ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।

प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न ११ स्थानमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 

आगलागीका कारण अछामको मङ्गलसेनस्थित घर नजिकै खेतमा बालिएको आगोमा परेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ। यस्तै, बारामा सर्पदंशका कारण एक जना र डोल्पामा लेक लागेर (अल्टिच्युड सिकनेस) एक जनाको ज्यान गएको छ।

काठमाडौँका तीन स्थान (रामघाट, चन्द्रागिरि र तीनचुली) सहित ललितपुर, झापा, मोरङ, धनुषा, बारा, दाङ, अछाम र डडेलधुरामा आगलागी भएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्। काठमाडौँको तीनचुलीस्थित सिन्धुली खाजा घरमा ग्यास लिक भएर आगलागी हुँदा एक जना र दाङको गिठेपानीमा किराना तथा मासु पसलमा आगो लाग्दा एक जना घाइते भएका छन्।

आर्थिक क्षतितर्फ सबैभन्दा बढी नोक्सानी बाराको जितपुरमा भएको छ। त्यहाँ दाल बोकेको लु२ख ५९४१ नम्बरको ट्रकमा विद्युत सर्ट भई आगलागी हुँदा मात्रै ७० लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।

जेठ ५, २०८३ मंगलबार १८:०४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।