सदनमा उठाइएका विषय सरकारले कार्यान्वयन नगरेकोप्रति रास्वपा सांसदको आपत्ति

सदनमा उठाइएका विषय सरकारले कार्यान्वयन नगरेकोप्रति रास्वपा सांसदको आपत्ति

काठमाडौं : प्रतिनिधिसभाको शून्य समयमा उठाइएका विषयहरू कार्यान्वयन नभएको भनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सदनमा सांसदहरूले राखेका जनसरोकारका मुद्दालाई सरकारले बेवास्ता गरेको आरोप लगाए। विगतका सदनमा आफूले उठाएका मागको हालसम्म कुनै सुनुवाइ नभएकोमा उनले रोष प्रकट गरे। यस्तै अवस्था रहे शून्य समयको सान्दर्भिकता नरहने र यसलाई बन्द गर्नुपर्ने उनको विचार छ। 

उनले भने, "मैले गत सदनमा पनि कुरा उठाएको थिएँ, बर्खा लाग्न लागिसक्यो तर अहिलेसम्म कुनै सुनुवाइ भएको छैन । आजसम्म शून्य समयमा उठेका कुराहरू क्यामेराले खिचेर रेकर्ड गर्न मात्र हो कि कार्यान्वयनमा ल्याउन पनि हो? त्यही क्यामेरामा रेकर्ड गराउन मात्र हो भने यो शून्य समय बन्द गरियोस्।"

खरेलले शून्य समयमा उठाइएका विषयको प्रभावकारी कार्यान्वयन र नियमनका लागि शक्तिशाली आयोग वा समिति गठन गर्न माग गरे। जनसरोकारका विषय केवल क्यामेरामा रेकर्ड गराउनका लागि मात्र नभई परिणाम प्राप्तिका लागि हुनुपर्ने उनको तर्क छ।

 उनले भने, "शून्य समयमा उठाएका विषयमा शक्तिशाली आयोग र समिति गठन गरेर नियमनमा गइयोस्।" जनआवाजलाई सम्बोधन गर्न र सदनको गरिमा जोगाउन सरकार जिम्मेवार बन्नुपर्ने उनको भनाई छ।

सांसदहरूले सदनमा बोलेका कुराको सुनुवाइ नहुँदा मौनधारण गर्नुपर्ने परिस्थिति पुनः आउन सक्ने चेतावनी उनले दिए। खरेलले भने, "अघिल्लो सदनमा सांसद हरि ढकालले मौनधारण गरेको देखेका छौं, अब फेरि त्यो दिन नआओस्।"

जेठ ५, २०८३ मंगलबार १४:५६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।