होल्डिङ सेन्टरमा सुकुमबासीलाई बन्दीजस्तै गरी राखिएको भन्दै संसद्‌मा सरकारको आलोचना

होल्डिङ सेन्टरमा सुकुमबासीलाई बन्दीजस्तै गरी राखिएको भन्दै संसद्‌मा सरकारको आलोचना

काठमाडौं : एमाले सांसद विष्णुमाया बिकले सुकुमबासी बस्तीमा डोजर चलाएर सरकारले गरिब विस्थापित गर्ने नीति लिएको भन्दै आपत्ति जनाएकी छन्।

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले काठमाडौँबाट गरिब भगाउने सरकारको शैलीप्रति आक्रोश व्यक्त गरिन्।

सांसद बिकले काभ्रेको बनेपास्थित होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरूको दयनीय अवस्थाबारे सदनको ध्यानाकर्षण गराइन्। राज्य व्यवस्था तथा सुशासन समितिको तर्फबाट उक्त सेन्टरको अनुगमन गरेपछि उनले त्यहाँ रहेका नागरिकहरू अत्यन्तै कष्टकर अवस्थामा रहेको बताइन्।
 
"११० जना सुकुम्बासी नागरिक रहेको उक्त सेन्टरमा नर्सरीदेखि कक्षा १२ सम्म पढ्ने २२ जना र स्नातक तहमा अध्ययनरत ५ जना विद्यार्थीहरू छन्", उनले भनिन्, "बस्तीमा डोजर चलेदेखि उनीहरूको पढाइ पूर्ण रूपमा ठप्प भएको छ। उनीहरू त्यहाँ बन्दीजस्तै गरी बसेका छन्।"

उनले सेन्टरमा रहेका थुप्रै दीर्घरोगीहरूले समयमा चिकित्सकको परामर्श र आवश्यक औषधि समेत पाउन नसकेको उल्लेख गरिन्।

घरमा डोजर चलेपछि विस्थापित भएका मिलन तामाङले मानसिक सन्तुलन गुमाएको जानकारी दिँदै उनले भनिन्, "मिलन तामाङ डोजरले घर भत्काएदेखि मानसिक सन्तुलन गुमाएर बसिरहेका छन्। उनको तत्काल उपचार गर्न र विद्यार्थीहरूको पठनपाठन अगाडि बढाउन म सरकारसँग जोडदार माग गर्दछु।"

सांसद बिकले काठमाडौंबाट सुकुम्बासी हटाउने सरकारको शैलीप्रति लक्षित गर्दै गरिबलाई दुःख दिने काम बन्द गर्न आग्रह गरिन्।

उनले भनिन्, "यो सरकारले काठमाडौँबाट गरिब भगाउने नीति लिएको देखिन्छ, जुन सरासर गलत छ। सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ।"

उनले विस्थापित नागरिकहरूको उचित व्यवस्थापन र आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारले तत्काल कदम चाल्न माग गरिन्।

जेठ ५, २०८३ मंगलबार १३:०६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।