पेट्रोल पम्पमा सात दिनभित्र सुधार गर्न आयल निगमको निर्देशन : शौचालय, हरियाली र मूल्यसूची अनिवार्य
काठमाडौं : नेपाल आयल निगमले देशभरका पेट्रोलियम बिक्रेताहरू (पेट्रोल पम्प) लाई सेवाग्राहीको सुविधा, सुरक्षा र स्वच्छता सुनिश्चित गर्न सात दिनको समय दिएर विभिन्न सुधारका कामहरू गर्न कडा निर्देशन दिएको छ।
निगमको आपूर्ति तथा वितरण विभागले सातै प्रदेशका प्रादेशिक कार्यालय, इन्धन डिपो र शाखा कार्यालयहरूलाई पत्राचार गर्दै मातहतका बिक्रेताहरूलाई यो निर्देशन दिन र सोको प्रभावकारी अनुगमन गर्न निर्देशन दिएको हो।
निगमले पम्पहरूमा अग्निजन्य जोखिम न्यूनीकरण गर्न आवश्यक पर्ने अग्नि सुरक्षाका साधनहरू सधैँ तयारी र दुरुस्त अवस्थामा राख्न, पम्प परिसरभित्र रहेका शौचालयहरू नियमित रूपमा सरसफाइ गरी सेवाग्राहीका लागि सहज प्रयोगको व्यवस्था मिलाउनुपर्ने। साथै, स्वच्छ पिउने पानीको व्यवस्था सुनिश्चित गर्न निर्देशन दिएको छ।
यसका अलावा पेट्रोलियम पदार्थको मूल्यसूची स्पष्ट देखिने गरी राख्नुपर्ने र पम्पका क्यानोपीहरू दुरुस्त अवस्थामा हुन, पम्पको सम्पूर्ण संरचनामा रंगरोगन गरी सफा र सुन्दर बनाउनुपर्ने तथा परिसरभित्र हरियाली प्रवर्द्धनका लागि वृक्षारोपण लगायतका कार्य गर्न समेत निर्देशन दिएको छ।
निगमले यी कार्यहरू अनिवार्य रूपमा सात दिनभित्र कार्यान्वयन गर्न बिक्रेताहरूलाई निर्देशन दिन र ती कार्यहरू भए-नभएको अनुगमन गरी त्यसको जानकारी केन्द्रमा पठाउन आफ्ना कार्यालयहरूलाई भनेको छ।
जेठ ४ गते जारी गरिएको यस निर्देशनमा निगमका निर्देशक ई. सुरज शाहले हस्ताक्षर गरेका छन्। निगमले "सहजता, शुद्धता र पारदर्शिता" को नारालाई व्यवहारमा उतार्न यो कदम चालेको जनाएको छ।
जेठ ५, २०८३ मंगलबार ११:३१:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।