प्रहरी हिरासतबाटै छानबिन प्रभावित पार्न भट्ट र अग्रवाल सक्रिय, ललितपुरका एसएसपीमाथि छानबिन गर्न समिति गठन
काठमाडौं : बैंकिङ कसुर, बीमा र सेयरको भित्री कारोबारसहित सम्पत्ति शुद्धीकरणको कसुरको अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका दीपक भट्ट र सुलभ अग्रवाललाई हिरासतमै मोबाइल प्रयोग गर्न दिएको र प्रहरीको कोठामा सुताएको आरोपमा एसएसपी होविन्द्र बोगटी छानबिनको दायरामा तानिएका छन्।
सम्पत्ति शुद्धीकरण विभागले छानबिनकोक्रममा ललितपुरको हिरासतमा राखिएका दुबैलाई बोगटीको निर्देशनमा अवैध र अतिरिक्त सुविधा दिएको सूचनाको आधारमा उपत्यका प्रहरी कार्यालयले डिआइजी ओम अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो।
स्रोतका अनुसार प्रहरी हिरासतमा रहेको बेलामा भट्ट र अग्रवालले बाहिरका केही व्यक्तिसँग मोबाइलबाट सम्पर्क गरेको सूचना प्रधानमन्त्रीको सचिवालयमा पुगेपछि यसको खुलासा भएको हो।
पछि प्रहरीकै सक्रियतामा यी दुबैलाई बेलुका भएपछि हिरासतबाट निकालेर प्रहरी कर्मचारीको कोठामा सुताउने, हिरासतमा रहेकालाई भेटघाटका लागी दिइने सुविधा भन्दा अतिरिक्त सुविधा दिएको लगायतको पक्ष खुलेपछि छानबिन समिति नै बनेको हो।
प्रहरीको सहयोगमा भट्ट र अग्रवाल छानबिनमै प्रभावित पार्ने मनसायले सक्रिय देखिएपछि प्रहरीले भट्टलाई ललितपुरको हिरासतको साटो प्रहरी वृत्त बौद्धको हिरासतमा राखेको छ।
जेठ ४, २०८३ सोमबार २३:१६:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।