प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध १६ उजुरी

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध १६ उजुरी

काठमाडौं : प्रधानन्यायाधीशमा सिफारिस गरिएका न्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी दर्ता भएका छन्। 

समितिले वैशाख २५ गते १० दिनको समय दिई आह्वान गरेको सार्वजनिक उजुरीको अन्तिम दिन सोमबार कार्यालय समयसम्म उक्त संख्यामा उजुरी परेका हुन्।

संवैधानिक परिषद्को वैशाख २४ गतेको निर्णयअनुसार प्रधानन्यायाधीशमा सिफारिस भएका शर्माको कार्यकुशलता, कार्यदक्षता, आचरण र कार्यसम्पादनसँग जोडिएका विषयमा उजुरी माग गरिएको थियो। 

समितिकी उपसचिव साबित्रा शर्माका अनुसार प्राप्त उजुरीहरूलाई भोलि (मंगलबार) बिहान ९:४५ बजे बस्ने समितिको बैठकमा खोलिने र अध्ययनका लागि सदस्यहरूलाई वितरण गरिने कार्यसूची छ।

समितिले उजुरी खोल्नुका साथै भोलि नै दिउँसो १ बजेसम्म उजुरीकर्ताहरूलाई छलफलका लागि बोलाउने तयारी गरेको छ। उजुरीकर्तासँगको छलफल पश्चात् प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ प्रक्रिया अगाडि बढ्नेछ।

समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बोधनारायण श्रेष्ठ छन्। संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएमा राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक प्रावधान छ।

जेठ ४, २०८३ सोमबार २०:४६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।