पर्यटक भिसामा नेपाल आएर अवैध रूपमा रेष्टुरेन्ट चलाइ बसेका जापानी नागरिक अध्यागमनको नियन्त्रणमा

पर्यटक भिसामा नेपाल आएर अवैध रूपमा रेष्टुरेन्ट चलाइ बसेका जापानी नागरिक अध्यागमनको नियन्त्रणमा

काठमाडौं : भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न जापानका एक नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ। 

सन् २०१२ मा पहिलो पटक पर्यटक भिसामा नेपाल प्रवेश गरेका उनले नेपालमा अनुमति नलिई ६ वर्षसम्म गैरकानूनी रूपमा व्यवसाय सञ्चालन गरेको अध्यागमन कार्यालयले जनाएको छ।

स्थानीय तहमा व्यवसाय दर्ता गरे पनि कुनै पनि वर्षमा नेपाल सरकारलाई बुझाउनुपर्ने कर तिरेको देखिँदैन। नेपाली महिलासँग विवाह गरेका जापानका नागरिक प्रष्ट नेपाली भाषा बोल्छन्। उनले पोखरा लेखनाथ महानगरपालिका व्यवसाय दर्ता गरी पुम्दी पभुम्दीमा पिस अफ माईन्ड रेष्टुरेण्ट क्याफे सञ्चालन गर्दै आएका छन्।

सम्बन्धित सरकारी कार्यालयमा व्यवसाय स्थानान्तरणसम्बन्धी प्रक्रिया पूरा नगरी विगत ४ वर्ष देख झम्सिखेलमा कफी सप सञ्चालन गरिरहेको देखिन्छ। नाम गुगल म्याप्समा 'द झम्सीखेल' राखेको छ। उक्त कफी सप दर्ताबिना सञ्चालन गरिरहेको पाइएको अध्यागमनले जनाएको छ।

नेपालमा पर्यटक भिसामा बसेको विदेशी नागरिकले विदेशी लगानी स्वीकृत गरी व्यवसाय सञ्चालन गर्न व्यावसायिक भिसा लिएको हुनुपर्छ अथवा काम गर्ने भए वर्किङ भिसा लिएको हुनुपर्छ।

भिसाको उद्देश्य विपरीत क्रियाकलापमा संलग्न बसेका विदेशीलाई महानिर्देशकले ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने र अवधि तोकी वा नतोकी नेपाल पुनः प्रवेश गर्न नपाउने गरी निष्कासन गर्ने कानुनी व्यवस्था छ।

नेपालमा भिसाको उद्देश्य विपरीत बसेका वा शंकास्पद गतिविधिमा संलग्न निज विदेशी नागरिकलाई अनुसन्धान गरी कानुन बमोजिम कारबाही गरिने अध्यागमनले जनाएको छ ।

जेठ ४, २०८३ सोमबार १८:१२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।