इरानमा थुनानमा रहेका अमृत झा रिहा भएको गलत सूचना दिएकोमा परराष्ट्र मन्त्रालयले माग्यो माफी

इरानमा थुनानमा रहेका अमृत झा रिहा भएको गलत सूचना दिएकोमा परराष्ट्र मन्त्रालयले माग्यो माफी

काठमाडौं : इरानमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली नागरिक अमृत झा रिहा भएको गलत सूचना सार्वजनिक भएकोमा परराष्ट्र मन्त्रालयले माफी मागेको छ।

यसअघि मन्त्रालयले एक विज्ञप्ति जारी गरेर झाको रिहा भएको सूचना सार्वजनिक गरेको थियो। सोही सूचना परराष्ट्र मन्त्रीले समेत सामाजिक सञ्जालमा शेयर गरेका थिए। 

तर, सोमबार उक्त सूचना गलत रहेको र झा अझै पनि थुनामै रहेको भन्यो। यसअघि मन्त्रालय र परराष्ट्र मन्त्रीबाट सार्वजनिक भएको सूचना र त्यसबाट सिर्जना भएको अन्योलप्रति माफी मागेको छ। 

सोमबार जारी विज्ञप्तिअनुसार झा हाल इरानको बन्दर अब्बासमा थुनामै रहेको र उनको मुद्दा त्यहाँको स्थानीय अदालतमा विचाराधीन रहेको छ।

"इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको र झा थुनामै रहेको अवस्थामा निज रिहा भएको भन्ने अनौपचारिक जानकारी सार्वजनिक हुन गएबाट सिर्जना भएको अन्योल र असुविधाप्रति मन्त्रालय क्षमा प्रार्थी छ," विज्ञप्तिमा भनिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार अमेरिका-इजरायल र इरानबीच २८ फेब्रुअरी २०२६ मा द्वन्द्व सुरु हुनु अगावै जनवरी २०२६ को सुरुमा नेपाली नागरिक झा र अन्य ६ जना विदेशीहरूलाई इरानी सुरक्षाकर्मीहरूले क्युसिएम आइल्यान्डबाट नियन्त्रणमा लिएका थिए।

अप्रिल १५ मा इरानका लागि नेपाली अनररी कन्सल शाहराम शान्तियाईले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई 'अमृतको रिहाइ पत्र जारी भइसकेको र उनी आजैदेखि मुक्त भएको' भनी  लिखित सन्देश पठाएका थिए।

सोही सूचनाका आधारमा तत्कालीन जनचासो, सञ्चार माध्यमको सोधपुछ र परिवारको चासोलाई सम्बोधन गर्न मन्त्रालयले झा रिहा भएको विज्ञप्ति जारी गरेको थियो भने परराष्ट्र मन्त्रीले समेत सामाजिक सञ्जालमार्फत उक्त कुरा सार्वजनिक गरेका थिए। 

तर, केही दिनपछि प्राप्त विवरणअनुसार अदालतले अमृत झा रिहा भइनसकेको र उक्त मुद्दामा विशेषज्ञ प्रतिवेदन तयार गर्न आदेश दिएको तथ्य खुलेको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले उपलब्ध गराएको जानकारीअनुसार गठित विज्ञ टोलीले प्रतिवेदन तयार गरी अदालतमा बुझाउने  तयारी गरिरहेको छ।

मुद्दा इरानको स्थानीय अदालतमा विचाराधीन रहेकाले त्यसको निरूपण इरानको कानुन अनुसार नै हुने भएकाले  झाको निष्पक्ष सुनुवाइका लागि उपलब्ध सबै माध्यम प्रयोग गरी निरन्तर कूटनीतिक पहल जारी राखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

जेठ ४, २०८३ सोमबार १६:४३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।