प्रधानमन्त्रीको स्टाटसपछि बढ्यो डीडीसीका उत्पादनको माग, रित्तिँदै गोदाम
काठमाडौं : दूधको पैसा तिर्न नसकेर बदनाम भएको दुग्ध विकास संस्थान (डीडीसी) उत्पादनको बजारमा माग बढेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत 'से चिज, डिडिसीको चिज अर्थात् चिज भन्नुस्' भन्ने सन्देश राखेका थिए। सोही सन्देशको कारण डिडिसी स्टकमा रहेको चिजसमेत धमाधम प्याक गरेर बजार पठाएको महाप्रबन्धक शरणकुमार पाण्डेले उकेरालाई जानकारी दिए।
“माग बढेको छ। यत्ति नै भन्ने डेटा अहिलेसम्म पाएको छैन। तर हाम्रो स्टकमा रहेको सामानहरू पनि प्याक गरेर बजार पठाउन थालेका छौं। बिग मार्ट, भाटभटेनीबाट पनि मागहरू आइराखेको छ”, उनले भने।
बजारमा माग बढेको भए पनि डीडीसीको आफ्नै वितरण केन्द्र भने पर्याप्त छैन। जसको कारणले माग धान्नको लागि निजी डेरी कम्पनीहरूसँग डीडीसीले समन्वयन गर्न लागेको छ।
डीडीसीले रसुवा, दोलखा, रामेछाप, सोलुखुम्बु, इलाम र पाँचथर लगायतका जिल्लाबाट चौँरीको दूध सङ्कलन गरेर चिज उत्पादन गर्दै आइरहेको छ। संस्थानको हाल देशभर १४ वटा चिज उत्पादन केन्द्र मध्ये ८ वटामा मात्रै याकको चिज उत्पादन हुँदै आएको छ। वार्षिक ३६ क्विन्टल याकको चिज उत्पादन हुने महाप्रबन्धक पाण्डे बताउँछन्।
“याकको चिज उत्पादनको सिजन हुन्छ। अब सिजन सुरु हुन थाल्यो। हाम्रो उत्पादन वार्षिक ३६ क्विन्टल चिज उत्पादन हुँदै आएको छ,” उनी भन्छन्, “अब किसानसँग समन्वयन गरेर थप दूध उत्पादन गर्न सकियो भने बजारको मागलाई धान्न सकिन्छ। तर दूध उत्पादनमै समस्या छ। अब चौँरीहरू रोगले मर्ने भएकोले पनि उत्पादन कम भयो भने त्यही अनुसारको चिज हुने न हो।”
जेठ ४, २०८३ सोमबार १६:०६:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।