वडा सचिवलाई थर्काएको अडियो भाइरल भएपछि समातिए रास्वपाका सदस्य प्रकाश
काठमाडौं : छिटो सिफारिस पत्र बनाउन नमानेको भन्दै दैलेखको दुल्लु नगरपालिका-१३ का वडा सचिव कमल भण्डारीलाई धम्क्याउन संलग्न प्रकाश खड्का सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य रहेको खुलेको छ।
उनले सुर्खेतको ठेगाना राखेर रास्वपाको सदस्य लिएको खुलेको हो। वडामा अन्य सेवाग्राहीको पालो मिचेर आफ्ना लागि सिफारिस मागेका खड्कालाई सचिव भण्डारीलाई आफू प्रधानमन्त्री कार्यालयबाट बोलेको भन्दै धम्क्याएका थिए।
सचिव भण्डारीले सिफारिस प्रक्रिया अनुसार बनाउने जवाफ दिएपछि उनले गाली गर्दै कालोमोसो दल्ने चेतावनी दिएका थिए।
दुवैको संवाद सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले विज्ञप्तिमार्फत खड्कामाथि कानुनी कारबाहीका लागि सम्बन्धित निकायलाई आग्रह गरिएको थियो।
लगत्तै उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौंमा पक्राउ गरेको छ। उता रास्वपाको दैलेख जिल्ला कमिटीले खड्काले पार्टीको अनुशासन उलंघन गरेको भन्दै केन्द्रीय अनुशासन आयोगलाई उनको सदस्यता नरहने गरी निलम्बन गर्न सिफारिस गरेको छ।
जेठ २, २०८३ शनिबार २१:२५:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।