प्रधानमन्त्री कार्यालयको नाम लिएर वडा सचिवलाई धम्की दिएको आरोपमा खड्का पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम लिएर वडा सचिवलाई धम्की दिएको आरोपमा खड्का पक्राउ

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम लिएर कर्मचारीलाई धम्क्याएको र त्रास सिर्जना गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

दैलेखको दुल्लु नगरपालिका-१३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिएको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि शनिबार सुर्खेत घर भई काठमाडौंको शङ्खमुल बस्ने २२ वर्षीय प्रकाश खड्कालाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बोलेको भनेर वडा सचिव भण्डारीलाई फोनमार्फत धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्द प्रयोग गरेको आरोमा खड्कालाई पक्राउ गरिएको जानकारी दिए।

उनले फोनमार्फत धम्की दिएको अडियो सार्वजनिक भएको थियो। उक्त अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी सुरक्षा तथा अनुसन्धान निकायलाई तत्काल कानुनी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए।

जिम्मेवारी निर्वाह गरिरहेका राष्ट्रसेवक कर्मचारीमाथि भय र त्रास सिर्जना गर्ने, अमर्यादित व्यवहार गर्ने तथा दबाब दिने गतिविधि पूर्णतः निन्दनीय र अक्षम्य रहेको विज्ञप्तिमा उल्लेख छ।

कुनै पनि व्यक्तिले प्रधानमन्त्री, प्रधानमन्त्रीको सचिवालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम प्रयोग गरी फोन वा भेटमार्फत धम्की दिने, बार्गेनिङ गर्ने वा अनुचित दबाब सिर्जना गर्ने प्रयास गरेमा त्यस्ता भ्रममा नपर्न पनि कार्यालयले अनुरोध गरेको छ।

त्यस्ता शङकास्पद फोन, सन्देश वा संवादहरू आधिकारिक माध्यमबाट प्रमाणीकरण गरेर मात्र काम कारबाही अघि बढाउन पनि भनिएको छ। 

जेठ २, २०८३ शनिबार १८:५०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।