सार्वजनिक खरिदको इ-बिडिङ प्रणालीको अन्तर्राष्ट्रिय बेइज्जत, एसियाली विकास बैंकले अस्वीकार गरेपछि सिआइबीको अनुसन्धान

सार्वजनिक खरिदको इ-बिडिङ प्रणालीको अन्तर्राष्ट्रिय बेइज्जत, एसियाली विकास बैंकले अस्वीकार गरेपछि सिआइबीको अनुसन्धान

काठमाडौं : सरकारले सार्वजनिक खरिद प्रणालीमा अपनाएको इ-बिडिङ प्रणालीको सुरक्षामाथि गम्भीर प्रश्न उठाउँदै एसियाली विकास बैङ्कले खरिद प्रणाली नै अस्वीकार गरेपछि सरकारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमार्फत अनुसन्धान गराएको खुलेको छ।

एसियाली विकास बैंकले आफ्नो सहायतामा सञ्चालित आयोजनाको खरिद प्रक्रिया सम्बन्धमा विद्युतीय खरिद प्रणालीको दुरुपयोग र अनियमितता नरोकेसम्म बैङ्कको सहायतामा सञ्चालित आयोजनाको खरिद प्रक्रियामा सो प्रणालीको प्रयोग नगरेपछि सिआइबी अन्तर्गत अनुसन्धान गराएको हो।

शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइएको महालेखा परीक्षकको प्रतिवेदनमा यो सम्बन्धी विषय उल्लेख छ। एसियाली विकास बैंक अन्तर्गतका परियोजनाको ठेक्का पार्न ठूला निर्माण कम्पनीहरूले विद्धुतिय प्रणालीमा छेडखानी गराएर ठेक्काको अंक हेरफेर गराएको सूचनाको आधारमा सो प्रणाली अस्वीकार गरेको हो।

सिआइबीको अनुसन्धानमा सर्भरमा बाहिरबाट अनधिकृत रूपमा प्रवेश गरेर ठेक्का रकम फेरबदल गराउने, आफू अनुकूल ठेक्का पार्ने र बिटक्वाइनमार्फत कमिसन लिने गरेको खुलेपछि कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डेसहित २२ जना विरुद्ध अभियोग पत्र नै दर्ता भइसकेको छ।

अनुसन्धानमा ठेक्का रकम हेरफेरमा संलग्न गिरोहले डेटा हब प्रालिको क्लाउड सर्भरमा परीक्षणका लागि प्रयोग गरिएको भीपीएस सर्भरलाई माध्यम बनाएर सरकारी सूचना प्रणालीमा अनधिकृत पहुँच बनाएर प्रस्ताव नै हेरफेर गर्ने गरेको खुलेको थियो।

यस्तो बदमासी निर्माण सम्बन्धी ठेक्कामा मात्र नभई स्वास्थ्य उपकरणको ठेक्कामा समेत देखिए पनि सिआइबीले भने केवल निर्माण सम्बन्धी विषयको मात्र अनुसन्धान गरेको थियो। यो प्रकरणको मुख्य व्यक्ति सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाका कम्प्युटर अपरेटर दिवाकर देउजा रहेको खुलेको थियो। उनले सरकारी स्रोतको दुरुपयोग गरी प्रणालीमा आक्रमण गर्न सहयोग गरेको अभियोग पत्रमा उल्लेख छ।

कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डे, आशिष निर्माण सेवाका ऋषिकेश गौली, सोली थुम्का निर्माण सेवाका सञ्चालक सञ्जय भट्ट, कटुवाल कन्स्ट्रक्सनका सागर कटुवाल, र सरकारी कर्मचारी दिवाकर देउजा यसमा प्रतिवादी बनेका छन्।

त्यसैगरी, इन्कोन प्रालिका स्वदेश पोखरेल, कल्पवृक्ष बिल्डर्सका प्रकाश ढुङ्गाना, भिसान कन्स्ट्रक्सनका टंककुमार श्रेष्ठ, चपुर निर्माण सेवाका अमृत बोहरा, गीताञ्जली कन्स्ट्रक्सनका जीवनकुमार दास, शिभांश निर्माण सेवाका अनिल श्रेष्ठ र भरत धामी पनि प्रतिवादी छन्।

राहुलजङ्ग कार्की (केबीके कन्स्ट्रक्सन), नारायण प्रसाद सिटीखु (मान कन्स्ट्रक्सन), इन्द्रबहादुर बोहरा (रमिता इन्फ्रास्ट्रक्चर), शान्तकुमार श्रेष्ठ (एसके कन्स्ट्रक्सन), निरञ्जन खनाल (दक्षिणकाली अल ओभर कन्ट्याक्ट), कृष्णबहादुर खत्री (नन्दी कन्स्ट्रक्सन), ज्योति सुवेदी (आशिष निर्माण सेवा), सरोज दाहाल (चपुर र कल्पवृक्ष) र सुजन अधिकारी (राइजिङ पिक कन्स्ट्रक्सन) फरार छन्।

जेठ १, २०८३ शुक्रबार २३:१८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।