सीईओ पाण्डेको पक्राउप्रति बैंकिङ क्षेत्रको आपत्ति, हिरासत बाहिरै राखेर अनुसन्धान गर्न माग

सीईओ पाण्डेको पक्राउप्रति बैंकिङ क्षेत्रको आपत्ति, हिरासत बाहिरै राखेर अनुसन्धान गर्न माग

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा बैंकिङ क्षेत्रका चारवटा प्रमुख छाता संगठनहरूले गम्भीर आपत्ति जनाएका छन्।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आइतबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पाण्डेको पक्राउले वित्तीय क्षेत्रमा नकारात्मक असर पर्ने चेतावनी दिएका हुन्।

पाण्डेलाई वैशाख २९ गते सिन्धुलीबाट मोबाइल स्वीच अफ गरी भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विज्ञप्तिमार्फत जानकारी गराएको थियो।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया), २०७३ को दफा ५७ ले कर्जा असुली नभएको खण्डमा बैंकलाई विशेष अधिकार दिएको र सोही बमोजिम कर्जा असुली प्रक्रिया अघि बढाउनु सीइओको मुख्य दायित्व भएको संगठनहरूको तर्क छ।

सर्वसाधारणको निक्षेपमा चल्ने बैंकका प्रमुख व्यक्तिलाई कर्जा असुलीको विषयलाई लिएर पक्राउ गर्दा बैंकको साखमा गिरावट आउने र समग्र वित्तीय स्थायित्वमै आँच पुग्ने विज्ञप्तिमा उल्लेख छ।

बैंकिङ क्षेत्रका संगठनहरूले अनुसन्धानका क्रममा ‘पहिले सुन अनि थुन’ को सिद्धान्तलाई आत्मसात गर्न आग्रह गरेका छन्। उच्च पदस्थ कर्मचारीलाई अनुसन्धानका लागि हिरासतमै राख्नु नपर्ने भन्दै उनीहरूले पाण्डेलाई यथाशिघ्र हिरासत बाहिर राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन माग गरेका छन्।

बैंकर्स संघहरूले बैंकको गरिमा र कर्मचारीको मर्यादालाई ध्यानमा राख्दै सम्बन्धित निकायलाई गम्भीर बन्न अपिल गरेका छन्। यो घटनाले कर्जा असुली प्रक्रियामा संलग्न बैंकिङ कर्मचारीहरूमा त्रासको वातावरण सिर्जना भएको समेत उनीहरूको ठहर छ।

वैशाख ३१, २०८३ बिहीबार १३:०४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।