जेठमा पनि घट्यो ब्याजदर, व्यक्तिगत मुद्दतिमा पाँच प्रतिशतभन्दा पनि कम
काठमाडौं : वाणिज्य बैंकहरूले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार वैशाखको तुलनामा जेठमा निक्षेपको औसत ब्याजदर घटेको छ।
नयाँ ब्याजदर अनुसार वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत ब्याजदर ४.३४३ प्रतिशत कायम भएको छ। त्यसैगरी, संस्थागत निक्षेपतर्फको औसत ब्याजदर पनि ३.२२९५ प्रतिशतबाट घटेर ३.२०४ प्रतिशतमा पुगेको छ।
वैशाखको तुलनामा जेठमा ७ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १३ ले स्थिर राखेका छन्।
वैशाखको तुलनामा जेठमा ब्याजदर घटाएका ७ बैंकमा सिटिजन्स, एनएमबि, एनआईसी एशिया, हिमालयन, नेपाल बैंक, स्ट्याण्डर्ड चार्टर्ड र कुमारी बैंकले व्यक्तिगत ब्याजदरमा कटौती गरेका छन्।
सबैभन्दा धेरै ब्याजदर घटाउनेमा एनआईसी एशिया, हिमालयन र नेपाल बैंक रहेका छन्, जसले व्यक्तिगततर्फ ०.२५ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन्। यता सिद्धार्थ बैंकले भने व्यक्तिगत निक्षेपको ब्याजदरमा ०.०५ प्रतिशतले सामान्य वृद्धि गरेको छ।
संस्थागततर्फ सिटिजन्स बैंक इन्टरनेशनलले आफ्नो ब्याजदरमा ०.५ प्रतिशत विन्दुको वृद्धि गरेको छ भने कुमारी बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले संस्थागत ब्याजदरमा उल्लेख्य कटौती गरेका छन्।
कुन बैंकको ब्याजदर कति?
जेठ महिनाका लागि एनएमबि बैंकको व्यक्तिगत ब्याजदर ४.८ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ४.७५ प्रतिशत कायम भएको छ, जुन अन्य बैंकहरूको तुलनामा उच्च देखिएको छ। सबैभन्दा कम ब्याजदर कुमारी बैंकको ३.९६ प्रतिशत रहेको छ।
नबिल बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र एभरेष्ट बैंकले भने वैशाख महिनाकै ब्याजदरलाई जेठमा पनि निरन्तरता दिएका छन्।
तरलताको अवस्था र बजारको मागलाई मध्यनजर गर्दै बैंकहरूले ब्याजदरमा सामान्य परिमार्जन गरेको देखिन्छ।
वैशाख ३१, २०८३ बिहीबार ११:५०:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।