‘भारतीय पर्यटकलाई नेपालमा प्रतिबन्ध लगाइएको सूचना आधारहीन’
काठमाडौं : नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध लगाएको भनी फैलिएका भ्रामक र तथ्यहीन सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बोर्डले केही सञ्चारमाध्यम र अनलाइन सञ्जालमार्फत फैलाइएका विवरणहरू पूर्ण रूपमा गलत र आधारहीन भएको प्रस्ट पारेको हो।
भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा अनिवार्य परिचयपत्र लागू गरिएको, बसाइ अवधि ३० दिनमा सीमित गरिएको र अवधि नाघेमा सवारीसाधन जफत गरिनेजस्ता हल्लाहरू सत्य नभएको बोर्डले जनाएको छ।
विज्ञप्तिमा नेपाल सरकारले भारतीय पर्यटकको बसाइ अवधिमा कुनै नयाँ प्रतिबन्ध नलगाएको स्पष्ट पारिएको छ।
साथै, नेपाल र भारतबीच लामो समयदेखि कायम खुला सीमा व्यवस्था, द्विपक्षीय समझदारी, ऐतिहासिक जनस्तरको सम्बन्ध, सांस्कृतिक निकटता र पर्यटन सहकार्य यथावत् रहेको बोर्डले उल्लेख गरेको छ।
यद्यपि, नेपाल सरकारले हालै निजी सवारीसाधनमार्फत स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने भारतीय तथा अन्य विदेशी पर्यटकको सहजताका लागि भने 'अनलाइन प्रणाली' सुरु गरेको छ।
भन्सार विभागले विकास गरेको उक्त डिजिटल प्रणालीमार्फत अस्थायी प्रवेश अनुमति लिन र राजस्व भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। यसले सीमा नाकामा हुने झन्झट कम भई पर्यटकलाई छिटो र सहज सेवा मिल्ने विश्वास बोर्डको छ।
बोर्डले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता, पर्यटन व्यवसायी तथा सर्वसाधारणलाई अपुष्ट सूचना सम्प्रेषण नगर्न आग्रह गरेको छ। पर्यटन नीति र यात्रा व्यवस्थाबारे जानकारी लिन आधिकारिक सरकारी स्रोतमा मात्र भर पर्न पनि बोर्डले सुझाएको छ।
नेपाल भारतीयलगायत विश्वभरका पर्यटकका लागि सुरक्षित, मैत्रीपूर्ण र स्वागतयोग्य गन्तव्य रहेको उल्लेख गर्दै बोर्डले नेपाल-भारतबीचको मैत्रीपूर्ण सम्बन्ध र सहज आवतजावत प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको दोहोर्याएको छ।
वैशाख ३१, २०८३ बिहीबार ०८:५३:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।