वीरगञ्जका क्यासिनोबाट पाँच भारतीयसहित छ जना पक्राउ

वीरगञ्जका क्यासिनोबाट पाँच भारतीयसहित छ जना पक्राउ

वीरगञ्ज : वीरगञ्जका क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद गतिविधि गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले यहाँका चार वटा क्यासिनोमा प्रवेश गरी जुवातास खेलिरहेको विशेष सूचनाको आधारमा शनिबार पाँच भारतीय नागरिक र एक जना नेपाली नागरिकलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ पर्नेमा पाँच जना भारतको विहार राज्यका गणेश कुमार, सन्दीप कुमार, सुरज प्रसाद, अल्लाह यादव, ओमप्रकाश यादव र वीरगञ्ज महानगरपालिका-३२ का जमुदिन मियाँ अन्सारी रहेका छन्।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको संयुक्त टोलीले किङ्स क्यासिनो, फर्चुन सिटि गेमिङ क्लब र क्यासिनो माजोङबाट उनीहरू नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताए।

पक्राउ परेकाहरूका साथबाट केही रकम र दुई वटा मोबाइलसमेत बरामद गरिएको छ।

वैशाख २७, २०८३ आइतबार १४:४५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।