पशुपतिको जंगलमा भेटियो तीनवटा ग्रिनेट, जेनजी आन्दोलनमा लुटिएको प्रहरीकै हुनसक्ने आशंका

पशुपतिको जंगलमा भेटियो तीनवटा ग्रिनेट, जेनजी आन्दोलनमा लुटिएको प्रहरीकै हुनसक्ने आशंका

काठमाडौं : विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर क्षेत्रको जंगलमा शङ्कास्पद वस्तु (ग्रिनेट बम) फेला परेको छ।

पशुपतिस्थित राम मन्दिरभन्दा माथिको जंगलमा आइतबार बिहान फेला परेका तीनवटा ग्रिनेट नेपाली सेनाको डिस्पोजल टोलीले निकालेर परीक्षणका लागि लगेको छ।

आइतबार बिहान ८ बजे जंगलमा बमजस्तो वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। लगत्तै पुगेको नेपाली सेनाको टोलीले ती वस्तुलाई सुरक्षित रूपमा संकलन गरेको हो।

काठमाडौं प्रहरी परिसरका डिएसपी कौशल बुढाथोकीका अनुसार फेला परेका ती वस्तु प्लाष्टिकका ग्रिनेट हुन्।

प्रारम्भिक अनुसन्धानका अनुसार फेला परेका ग्रिनेटहरू नयाँ होइनन्। ती वस्तुमा खिया लागिसकेको छ। प्रहरीले ती ग्रिनेटहरू करिब ३-४ महिनाअघि नै त्यहाँ राखिएको हुनसक्ने अनुमान गरेको छ।

सबैभन्दा महत्त्वपूर्ण कुरा, यी ग्रिनेटहरू नेपाल प्रहरीकै हुनसक्ने आशंका गरिएको छ। गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा विभिन्न प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी हुँदा केही हतियारहरू लुटिएका थिए।

डिएसपी बुढाथोकीले उकेरासँगको कुराकानीमा भने, ‘आन्दोलनका क्रममा हाम्रा विभिन्न कार्यालयबाट ग्रिनेट लगायतका हतियार लुटिएका थिए। यो फेला परेको ग्रिनेट हाम्रै पनि हुनसक्छ। यद्यपि, नेपाली सेनाको प्रयोगशालामा परीक्षण भएपछि मात्रै यसबारे आधिकारिक रूपमा भन्न सकिन्छ।’

अहिले सेनाले ती ग्रिनेटहरूको प्रकृति र क्षमताको परीक्षण गरिरहेको छ।

वैशाख २७, २०८३ आइतबार १३:०३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।