सप्तरीमा आगलागीबाट ६ परिवारका १२ घरगोठ जलेर नष्ट, ४५ लाखभन्दा बढीको क्षती
सप्तरी : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति भएको भीषण आगलागीमा परी ठुलो धनमालको क्षति भएको छ।
गाईगोठको बालिएको घुरबाट सल्केको आगोले छ परिवारका १२ वटा घरगोठ पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ।
स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको घुरबाट सल्केको आगो छिमेकीका घरहरूमा फैलिएको थियो।
आगलागीबाट रामअवतारमा दुईवटा घर र एउटा गाईगोठ, छिमेकी जुगाइ यादवको दुईवटा घर र एउटा गोठ, अनिल यादवको दुईवटा घर एउटा गोठ, योगिन्द्र यादव, राजकुमार यादव, धीरेन्द्र यादवको एक/एक वटा घर गरी ९ घर र तीन वटा गाईगोठसमेत १२ वटा घर पूर्ण रुपले जलेर नष्ट भएको स्थानीय रामनाथ यादवले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचरलगायत नगदसहित करिब ४५ लाखभन्दा बढीको धनमालको नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ।
हनुमाननगर कङ्कालिनी नगरपालिका, मधेस–प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट आएको बारुण यन्त्र र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा आएको थियो।
वैशाख २७, २०८३ आइतबार ११:३२:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।