१३ वर्षीया बालिका आफ्नै बुबाबाट पटक-पटक बलात्कृत : आमा वैदेशिक रोजगारीमा, मामाले दिए प्रहरीमा जाहेरी
काठमाडौं : आमा पैसा कमाउन वैदेशिक रोजगारीका लागि युरोप पुगेकी थिइन्। घरमा सुरक्षा र संरक्षणको जिम्मेवारी पाएका बुबा नै ‘भक्षक’ बनेपछि १३ वर्षीया एक बालिका आफ्नै घरभित्र पटक-पटक बलात्कृत भएकी छन्।
काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नं. १५ मा डेरा गरी बस्ने एक व्यक्तिले आफ्नै नाबालिग छोरीलाई डर-त्रास देखाई लामो समयदेखि बलात्कार गर्दै आएको खुलासा भएको हो।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अभियुक्त बुबाविरुद्ध ‘हाडनातामा जबर्जस्ती करणी’ मुद्दामा जन्मकैद र थप सजायको माग गर्दै जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको छ।
अभियोगपत्र अनुसार बालिकाकी आमा विगत १३ महिनादेखि रोजगारीको सिलसिलामा क्रोएसियामा छिन्। काठमाडौंमा १३ वर्षीया बालिका, उनका ८ वर्षीय भाइ र बुबा एउटा कोठा भाडामा लिएर बस्दै आएका थिए। आमा विदेश गएको केही समयपछि नै बुबाले छोरीमाथि कुदृष्टि राख्न थालेका थिए।
बालिकाले प्रहरीलाई दिएको बयान अनुसार, बुबाले ‘कसैलाई भनेमा मारिदिने’ धम्की दिँदै पटक-पटक बलात्कार गर्ने गरेका थिए । पछिल्लो पटक २०८२ चैत २९ गते राति करिब २:३० बजे बुबाले मदिरा सेवन गरी बालिकालाई उनकै ओछ्यानमा गएर जबर्जस्ती करणी गरेका थिए।
लामो समयसम्म बुबाको कुतृत्य सहेर बसेकी बालिकाले अन्ततः मेसेन्जरमार्फत विदेशमा रहेकी आमालाई आफ्नो पीडा सुनाइन्।
आमाले तत्कालै नेपालमा रहेका आफ्ना भाइ (बालिकाको मामा) लाई घटनाबारे जानकारी गराएपछि यो बीभत्स घटना बाहिर आएको हो। बालिकाका मामाले प्रहरीमा जाहेरी दिएपछि वैशाख २ गते प्रहरीले अभियुक्त बुबालाई पक्राउ गरेको थियो।
प्रहरी र सरकारी वकिलसमक्ष दिएको बयानमा अभियुक्त बुबाले आफ्नो अपराध स्वीकार गरेका छन्। घटनाको रात घरमा पूजा भएको र आफूले अत्यधिक मदिरा सेवन गरेको उनले बताएका छन्।
बयानमा उनले भनेका छन्, ‘छोरी सुतिरहेको ओछ्यानमा गएर मैले मदिराको नशामा नियन्त्रण गुमाई जबर्जस्ती करणी गरेको हुँ। यसअघि पनि पटक-पटक यस्तो कार्य गरेकोमा मलाई पश्चात्ताप छ।’
सरकारी वकिल कार्यालयले दर्ता गरेको अभियोगपत्रमा मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ र २२० बमोजिम कारबाहीको माग गरिएको छ। बालिकाको उमेर १४ वर्षभन्दा कम (१२ वर्ष ११ महिना) रहेकाले अभियुक्तलाई जबर्जस्ती करणीको कसुरमा जन्मकैद र हाडनाता करणीको कसुरमा थप सजाय हुनुपर्ने माग दाबी गरिएको छ।
यस्तै, पीडित बालिकालाई अभियुक्तबाटै उचित क्षतिपूर्ति भराउन र पीडित राहत कोषबाट तत्कालै राहत उपलब्ध गराउन समेत अदालतसँग माग गरिएको छ।
बालिकाको स्वास्थ्य परीक्षण गर्दा जबर्जस्ती करणी भएको पुष्टि हुने रिपोर्ट प्राप्त भएको छ। साथै, घटनास्थलको मुचुल्का र अन्य प्रत्यक्षदर्शीहरूको बयानले पनि घटनाको पुष्टि गरेको अभियोगपत्रमा उल्लेख छ। हाल अभियुक्तलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न सरकारी वकिलले माग गरेका छन्।
वैशाख २७, २०८३ आइतबार १०:०७:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।