जिल्ला समिति विघटन र कारबाहीको एजेण्डासहित रास्वपा केन्द्रीय सचिवालय बैठक बस्दै

जिल्ला समिति विघटन र कारबाहीको एजेण्डासहित रास्वपा केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार बैठक आह्वान गरिएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।

प्रवक्ता झाका अनुसार बैठक वैशाख २७ गते साँझ ६ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय (घन्टीघर) मा बस्नेछ।

बैठकमा पार्टीको साङ्गठनिक सुदृढीकरण र आन्तरिक विषयसँग सम्बन्धित ६ वटा महत्त्वपूर्ण कार्यसूची (एजेन्डा) तय गरिएका छन्।

जसमा पार्टीको भेला तथा अधिवेशनका लागि विशेष तालिका तय गर्ने र विभिन्न आयोग तथा विभागमा पदाधिकारीहरूको मनोनयन गर्ने विषय समावेश छ।

त्यसैगरी, यस सचिवालय बैठकमा जिल्ला समिति विघटन गर्ने र पार्टी अनुशासन उल्लङ्घन गर्नेमाथिको अनुशासनात्मक कारबाहीका सम्बन्धमा पनि गम्भीर छलफल हुनेछ।

यसका साथै, आगामी केन्द्रीय समिति बैठकको तयारी र अन्य विविध विषयमा समेत छलफल हुने कार्यसूची रहेको प्रवक्ता झाले जानकारी दिए।

वैशाख २७, २०८३ आइतबार ०७:५५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।