सरकारलाई कामु प्रधानन्यायाधीश सपना मल्लको जवाफ : लडाइँ अझैँ बाँकी छ
काठमाडौं : कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले डर र प्रभावमा न्याय सम्भव नहुने भन्दै सबै न्यायाधीशहरूलाई भय र डरबाट मुक्त हुन आग्रह गरिन्। मेरिटमा पहिलो नम्बरमा रहे पनि सरकारले प्रधानन्यायाधीश सिफारिसमा छुटाइपछिको पहिलो सार्वजनिक सम्बोधनमा उनले भनिन् "भय र डरमा न्याय सम्भव हुन्। त्यसैले म सबै न्यायधीशहरुलाई भय र डरबाट मुक्त हुन आग्रह गर्दछु। चाहे त्यो दुई तिहाइको सरकार नै किन नहोस्, त्यो महाअभियोगको डर नै किन नहोस्" उनले भनिन्।
कानुन दिवसमा आयोजित कार्यक्रममा उनले आफू कानुन व्यवसायीको रूपमा जीवनभर विभेद र अन्याय विरुद्ध लडेका भन्दै लडाइ अझैँ बाँकी नै रहेको बताइन्। कार्यक्रममा सभामुख डीपी अर्यालले संसद्को नभई सरकारको पक्षमा वकालत गर्दै न्यायालय सरकारको स्पिरिट अनुसार काम गर्न तयार छ या छैन भन्ने प्रश्न उठाएका थिए। मल्लले उनलाई जवाफ दिँदै अदालतले संविधानको स्पिरिट र सरकारको स्पिडमा काम गर्ने भन्दै त्यसका लागि न्यायपालिकालाई साधन र स्रोत सम्पन्न बनाउनुपर्ने बताइन्।
उनले सम्बोधनमा सबै न्यायधीशहरुलाई भनिन् "डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अगाडि बढ्न आव्हान गर्दछु।"
उनले अहिलेको अवस्थालाई गम्भीर र कहालीलाग्दो घडीको संज्ञादिँदै "संविधानवाद् र नागरिक अधिकारको संरक्षणका लागि नागरिक समाज, नेपाल बारसहितलाई सबैलाई अपिल समेत गरिन्।"
उनले सबै संविधानवादको पक्षमा उभिन सक्नुपर्ने भन्दै त्यसको विकल्पमा जान नसकिने बताइन्। उनले यो या त्यो कारणले धराप थाप्ने अवस्था बन्ने हो कि भन्ने डर लागिरहेको भन्दै शक्तीको उन्मादमा आफ्नो संविधान विरोधी काम पुष्टि गर्ने प्रयास हुनसक्ने भन्दै संविधानलाई बिरूप पारेर संविधान उलंघन गर्नेहरूलाई सिङार्न नसकिने बताइन्।
"यो या त्यो कारण देखाएर धराप थाप्ने डर देखियो। एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिन्। संविधानको उलंघन गर्नेहरूलाई उत्तरदायी नबनाएसम्म संविधान जोगिन्न। विधि र वैधानिक हत्या गरेर गर्ने कार्यले निरंकुशताको झझल्को दिन्छ। विधिको शासन विरुद्ध उठ्ने आँट र औकात हामी सबैले देखाउन सक्नुपर्छ" उनले भनिन्।
वैशाख २६, २०८३ शनिबार १८:०३:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।