स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै जनकपुरधाममा स्वास्थ्यकर्मीको र्याली; लाग्यो 'मुर्दावाद'को नारा
काठमाडौं : स्वास्थ्यमन्त्री निशा मेहताको राजीनामा माग राखी शनिबार जनकपुरधाममा स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गरेका छन्।
स्वास्थ्य क्षेत्रमा ३५ वर्षपछि खुलाइएको नयाँ दरबन्दीमा हेल्थ असिस्टेन्ट, ल्याब र रेडियोलोजी लगायतका प्राविधिक पदलाई शून्य कायम गरेर विभेद गरिएको उनीहरूको आरोप छ।
धनुषाका सरकारी तथा निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले दुई दिनभित्र उक्त निर्णय नसच्याए आगामी सोमबार काठमाडौंमा विशाल प्रदर्शन गर्ने चेतावनी दिएका छन्।
उनीहरूले ‘स्वास्थ्यमन्त्री मुर्दावाद’, ‘निशा मेहता राजीनामा दे’, ‘हेपाई होइन अधिकार चाहिन्छ’, ‘बुद्धिहीन स्वास्थ्यमन्त्री निशा मेहता, हाम्रो माग पूरा गर’, ‘स्वास्थ्य क्षेत्रको विभेद बन्द गर’, ‘स्वास्थ्यकर्मीको अपमान बन्द गर’लगायतका नारा लगाउँदै जनकपुरधामको विभिन्न चोकमा विरोध र्याली निकालेका थिए।
स्वास्थ्यकर्मी नवेश अधिकारीले नर्सिङ र डाक्टरबाहेक अन्य पदमा दरबन्दी नखुलाउनुले देशमा स्वास्थ्यकर्मीहरूको आवश्यकता छ कि छैन भनेर प्रश्न गरे।
स्वास्थ्यकर्मी अधिकारीका अनुसार देशमा प्रत्येक वर्ष ५३०० भन्दा बढी स्वास्थ्यकर्मीहरू उत्पादन हुन्छन्। तर दरबन्दी भने एउटाको पनि हुँदैन। दरबन्दी आह्वान नै नगर्ने हो भने उक्त विषयको पढाई नै बन्द गर्नु बेस हुने स्वास्थ्यकर्मी अधिकारीको भनाइ छ।
स्वास्थ्यमन्त्री मेहताले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनको भनाई छ। मन्त्री मेहताले मेडिकल माफियाहरूको चाकरी गर्ने गरेको अधिकारीको आरोप छ।
वैशाख २६, २०८३ शनिबार १६:५५:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।