कानुन दोषीका लागि भय र निर्दोषका लागि भरोसा बन्नुपर्छ : राष्ट्रपति
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले कानुन दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा र सहारा हुनुपर्नेमा जोड दिएका छन्।
कानुन दिवस २०८३ को अवसरमा शनिबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
राष्ट्रपति पौडेलले विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा तलमाथि हुन थाल्यो भने त्यसको प्रतिकूल प्रभावले मानव समाज भयभित हुन थाल्ने बताए। सुशासन, शान्ति र समृद्धिका लागि कानुन औजार र 'उपचार' दुवै भएको उनको तर्क छ।
‘सुशासन, अमन, शान्ति, समृद्धि र मर्यादाका लागि विधि र थिति औजार र उपचार दुबै हुन् भनेर सम्झने र बुझ्ने पुनित दिनलाई नै कानून दिवसको रुपमा मनाईन्छ, कानून दिवसको यही मर्मलाई आत्मसात गर्न सकेमात्र आत्मनिर्भर र सम्वृद्ध नेपालको कल्पना गर्न सकिन्छ’, उनले भने।
राष्ट्रपति पौडेलले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवम् कानूनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिवद्ध प्रणालीको व्यवस्था गरेको बताए।
साथै उनले वर्तमान समयको माग र प्रविधिको तीव्र विकासलाई आत्मसात गर्दै नयाँ कानुनको निर्माण तथा प्रचलित कानुनमा समयसापेक्ष सुधार गर्नुपर्नेमा जोड दिए।
राष्ट्रपति पौडेलले आधुनिक पद्धति र प्रविधिको प्रयोगमार्फत न्यायमा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्नुपर्ने, मुद्दाको शीघ्र व्यवस्थापन गरी छिटो-छरितो न्याय सम्पादन गर्नुपर्ने र न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने कार्यमा सबै पक्ष दृढ रहनुपर्ने कुरामा विशेष आग्रह गरे।
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, कायममुकाय प्रधानन्यायाधीश सपना प्रधान मल्ल, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो।
वैशाख २६, २०८३ शनिबार १६:५०:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।