माइतीघरबाट प्रधानमन्त्री बालेनमाथि प्रश्न : तपाईंको जमिनको लालपुर्जा छ कि छैन ?
काठमाडौं : सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूमाथि राज्यले गरेको दमनको विरोधमा श्रम संस्कृति पार्टीले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
भूमिहीनका समस्या दीर्घकालीन रूपमा समाधान गर्न र गाँस, वास, कपासको संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
उनीहरूले 'यो देश गरिबको पनि हो, गाँस, वास, कपास हाम्रो अधिकार हो, भूमिहीन समस्या दीर्घकालीन रूपमा समाधान गर'लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा पार्टीका नेता छोटे पठानले सीमा सुरक्षाको विषय उठाउनुका साथै प्रधानमन्त्री वालेन्द्र 'बालेन' शाहलाई आफ्नो पारिवारिक जग्गाको विवरण सार्वजनिक गर्न चुनौती समेत दिए।
"सुकुम्बासीको घर भत्काइरहनु भएको छ। कालापानी, लिपुलेकमा अर्कोले बाटो बनाइरहेको छ। सरकारका लागि यो विषय कति लाजलाग्दो कुरा हो," पठानले भने, "प्रधानमन्त्री आफ्नै देशका सुकुम्बासी मेटाइरहनु भएको छ। सुकुम्बासीलाई देशमै व्यवस्थापन गर्ने हो कि चीन, जर्मनी वा जापान पठाउने हो, सरकार आफैँ अन्योलमा देखिएको छ।"
उनले अगाडि पथे, "प्रधानमन्त्री बालेन शाहज्यूलाई भन्न चाहन्छु, म पनि तपाईंको जिल्लाकै छिमेकी हुँ। तपाईं आफैँ भन्नुहोस्, नेपाली जनतालाई तपाईंको बुवाको नाममा कति बिगाहा जमिन छ ? त्यसको लालपुर्जा छ कि छैन ? सरकार तपाईंको, व्यवस्थापन तपाईंको, नेपालको जनता तपाईंको र नेपालको जमिन पनि तपाईंको जस्तो भएको छ।"
सोही क्रममा उनले कालापानी र लिपुलेक क्षेत्रमा भइरहेको गतिविधिप्रति पनि सरकारको ध्यानाकर्षण गराउँदै नेपाली भूमि अतिक्रमण र सीमा सुरक्षामा खटिएका नेपाल प्रहरीले भोग्नुपरेको समस्याका विषय उठाए।
वैशाख २६, २०८३ शनिबार १६:३३:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।