राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आह्वान

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आह्वान

काठमाडौं : सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको नेतृत्वका लागि प्रक्रिया अघि बढाएको छ।

प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गर्न गठित समितिले बुधबार (२०८३ वैशाख २६ गते) एक सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ।

सहकारी ऐन, २०७४ को प्रावधानअनुसार गठन हुन लागेको यस प्राधिकरणको नेतृत्व लिन चाहने उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिन अर्थात् २०८३ जेठ ९ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ।

सूचनाअनुसार अध्यक्ष र विज्ञ सदस्य दुवै पदका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानुन वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। दरखास्त दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर ६० वर्ष पूरा नभएको हुनुपर्ने सर्त राखिएको छ।

अध्यक्षका लागि नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव सरह) को पदमा काम गरेको, वा अन्तर्राष्ट्रिय/राष्ट्रिय स्तरका बैंक, वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीमा १५ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ।

यस्तै विज्ञ सदस्यका लागि अन्तर्राष्ट्रिय वा राष्ट्रिय स्तरका बैंक, वित्तीय संस्था वा सहकारी संस्थामा कम्तीमा १० वर्ष काम गरेको अनुभव हुनुपर्नेछ।

उम्मेदवारहरूले आफ्नो शैक्षिक र अनुभवको प्रमाणपत्रसँगै सहकारी क्षेत्रका समस्या, चुनौती, अवसर र भावी रणनीति समेटिएको व्यावसायिक कार्ययोजना अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। 

कम्प्युटर टाइप गरिएको यस्तो कार्ययोजना बढीमा ५ हजार शब्दको हुनुपर्नेछ। उम्मेदवारले कार्ययोजनाको तीन प्रति (एउटामा हस्ताक्षर भएको र अन्य दुईमा नाम/हस्ताक्षर नभएको) तयार गरी सिलबन्दी खामभित्र राखेर बुझाउनुपर्नेछ। साथै, कार्ययोजनाको प्रस्तुतीकरण (हार्ड र सफ्ट कपी) पनि छुट्टै खाममा सिलबन्दी गरी पेस गर्नुपर्ने कडा नियम बनाइएको छ।

आवेदन दिन चाहने उम्मेदवारले दरखास्त दस्तुरबापत ५ हजार रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकमा रहेको प्राधिकरणको खातामा जम्मा गर्नुपर्नेछ।

रसिद र आवश्यक सम्पूर्ण कागजातसहित उम्मेदवारले ललितपुरको पुल्चोकस्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यालयमा दरखास्त पेस गर्नुपर्नेछ। यससम्बन्धी थप विस्तृत जानकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा प्राधिकरणको आधिकारिक वेबसाइटबाट लिन सकिने समितिले जनाएको छ।

वैशाख २६, २०८३ शनिबार ०९:४९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।