काठमाडौंका नयाँबजार, असन र सिंहदरबारसहितका क्षेत्रमा आज र भोलि विद्युत् कटौती हुने

काठमाडौंका नयाँबजार, असन र सिंहदरबारसहितका क्षेत्रमा आज र भोलि विद्युत् कटौती हुने

काठमाडौं : काठमाडौंका नयाँबजार, असन र सिंहदरबारसहितका क्षेत्रमा आज र भोलि विद्युत् कटौती हुने भएको छ।

अन्डरग्राउन्ड केबल जडान तथा मर्मतसम्भारको काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा शनिबार र आइतबार विद्युत् आपूर्ति बन्द गर्न लागेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणले एक सूचना जारी गर्दै भूमिगत केबल जडान, चार्जिङ र फिडरको ‘प्रिभेन्टिभ मेन्टेनेन्स’को काम गर्न लागिएकाले निर्धारित समयमा बत्ती जाने जानकारी गराएको हो।

शनिबार बिहान ७  बजेदेखि दिउँसो १२ बजेसम्म सिंहदरबार-२ फिडर अन्तर्गत पर्ने सिंहदरबार परिसरभित्र र न्युरो अस्पताल क्षेत्र तथा दिउँसो १२ बजेदेखि बेलुका ४ बजेसम्म नयाँबजार फिडर अन्तर्गत पर्ने नयाँबजार क्षेत्र, इन्द्रेणी र आसपासका क्षेत्रहरूमा विद्युत आपूर्ति बन्द हुनेछ।

आइतबार बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म सिंहदरबार-२ फिडर अन्तर्गत पर्ने सिंहदरबार परिसरभित्र र न्युरो अस्पताल क्षेत्र तथा दिउँसो १२ बजेदेखि बेलुका ४ बजेसम्म असन फिडर अन्तर्गत पर्ने भोटाहिटी, असन चोक र त्यस आसपासका क्षेत्रहरूमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ। 

यससम्बन्धी थप जानकारी आवश्यक परेमा प्राधिकरणको वेबसाइट हेर्न वा हटलाइन नम्बर ११५० को एक्सटेन्सन नम्बर ३ मा डायल गरी बुझ्न सकिने सूचनामा उल्लेख छ।

वैशाख २६, २०८३ शनिबार ०९:३५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।