प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध उजुरी आह्वान, १० दिनको समयसीमा
काठमाडौं : सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले नेपालको प्रधानन्यायाधीश पदमा प्रस्ताव गरिएका सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध उजुरी आह्वान गरेको छ।
समितिले मिति २०८३ वैशाख २६ गते एक सार्वजनिक सूचना प्रकाशित गर्दै प्रस्तावित प्रधानन्यायाधीश शर्मालाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा १० दिनभित्र उजुरी दिन आह्वान गरेको हो।
समितिको सूचनामा उजुरी दिँदा शिष्ट र मर्यादित भाषामा स्पष्ट आधार र सबुत प्रमाणसहित पेस गर्नुपर्ने उल्लेख छ।उजुरीकर्ताले सूचना वा उजुरी दिँदा आफ्नो नाम, थर, ठेगाना (वतन) र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्नेछ।

तर, उजुरीकर्ताले चाहेको खण्डमा समितिको सचिवालयले निजको नाम र परिचय पूर्ण रूपमा गोप्य राख्ने व्यवस्था मिलाएको छ।
उजुरीकर्ताले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा रहेको संसदीय सुनुवाइ समितिको कार्यालयमा सीधै उपस्थित भएर, देशका जुनसुकै जिल्ला प्रशासन कार्यालयमा बुझाएर अनि समितिको इमेल ठेगाना: [email protected] मार्फत उजुरी दिन सक्नेछन्।
तोकिएको १० दिनको म्यादभित्र प्राप्त भएका उजुरीहरूमाथि अध्ययन गरेपछि संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. शर्मालाई बोलाएर सुनुवाइ प्रक्रिया अघि बढाउनेछ।
वैशाख २६, २०८३ शनिबार ०९:२६:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।