सरकारको नियन्त्रणमा रहेको ‘स्मार्ट टेलिकम’को सम्पत्ति गैरकानुनी लिलामी गर्न खोज्ने थप दुई पक्राउ

सरकारको नियन्त्रणमा रहेको ‘स्मार्ट टेलिकम’को सम्पत्ति गैरकानुनी लिलामी गर्न खोज्ने थप दुई पक्राउ

काठमाडौं : नेपाल सरकारको स्वामित्वमा आइसकेको ‘स्मार्ट टेलिकम प्रा.लि.’को सम्पत्ति गैरकानुनी रूपमा लिलामी प्रक्रियामा लगेर ठगी गर्न खोज्ने थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरूलाई वैशाख २५ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२२, पाको न्यूरोड स्थायी घर भई हाल ललितपुरको झम्सीखेल बस्ने ५५ वर्षीया पलिना श्रेष्ठ र काभ्रेको पनौती नगरपालिका-१२ स्थायी घर भई हाल काठमाडौंको धापासी बस्ने ६२ वर्षीय नरेन्द्र उलाक रहेका छन्।

पलिनालाई काठमाडौंको जमलबाट र नरेन्द्रलाई ललितपुरको बखुन्डोलबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।

स्मार्ट टेलिकम प्रा.लि.ले दूरसञ्चार सेवा सञ्चालन गर्न लिएको आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र (लाइसेन्स) नियमानुसार नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ बमोजिम २०८० वैशाख ३ गते उक्त लाइसेन्स स्वतः रद्द भएको थियो।

लाइसेन्स खारेज भएसँगै दूरसञ्चार प्राधिकरणले नियमअनुसार उक्त कम्पनीको सम्पूर्ण सम्पत्ति, पूर्वाधार र सञ्जाल आफ्नो नियन्त्रणमा लिएको थियो।

तर, नेपाल सरकारको हक स्थापित भइसकेको उक्त सम्पत्तिमा सरकारको अधिकार टुटाउने बदनियतपूर्ण उद्देश्य राखेर उनीहरूले गैरकानुनी रूपमा लिलामी गर्ने प्रक्रिया अघि बढाएका थिए।

सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिव कुमार श्रेष्ठका अनुसार, पक्राउ परेका दुवै जनालाई काठमाडौं जिल्ला अदालतबाट म्याद अनुमति लिई ‘ठगी तथा आपराधिक विश्वासघात’ कसुरमा थप अनुसन्धान भइरहेको छ।

यस प्रकरणमा यसअघि सीआईबीले स्मार्ट टेलिकमका पूर्वसञ्चालक सर्वेश जोशीलाई पक्राउ गरिसकेको छ।

वैशाख २६, २०८३ शनिबार ०७:४९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।