के सुदूरपश्चिममा सत्ता समीकरण फेरिँदै छ ?

के सुदूरपश्चिममा सत्ता समीकरण फेरिँदै छ ?

काठमाडौं : सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनभित्र चुलिएको विवादका बीच एमाले मन्त्रीहरूले गत चैत १२ गतेको मन्त्रिपरिषद् बैठक बहिष्कार गरे। मुख्यमन्त्री कमलबहादुर शाहले सत्ता साझेदार दलसँग पर्याप्त समन्वय नगरी राजनीतिक नियुक्तिहरू अघि बढाएकोमा एमाले असन्तुष्ट थियो। 

एमाले मन्त्रीहरूले बहिष्कार गरेको मन्त्रिपरिषद्बाट मुख्यमन्त्री शाहले राजनीतिक नियुक्तिसम्बन्धी निर्णय गरेपछि गठबन्धनभित्रको असमझदारी सतहमा आयो। यहाँ एमालेको समर्थनमा कांग्रेसको नेतृत्वको सरकार छ।

आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको दाबी गरिरहेको एमालेले पछिल्लो घटनाबाट थप चिढिएको छ। मुख्यमन्त्री शाहले एकलौटी ढंगले चलेको र पूर्व सहमति कार्यान्वयनमा इच्छा नदेखाएको एमालेको बुझाइ छ। यही बढ्दो आन्तरिक असमझदारीका बीच सत्ता समीकरणको नयाँ प्रयास भयो। 

सत्ता गठबन्धनभित्र बढ्दो असमझदारीको फाइदा उठाउँदै एमालेलाई साथमा लिएर नयाँ सरकार निर्माणको रणनीतिमा देखियो, नेपाली कम्युनिष्ट पार्टी। जसमा एमाले नेताहरूसमेत सकारात्मक रहेको बताइन्छ। यता कांग्रेसभित्र पनि शाहलाई मुख्यमन्त्रीबाट हटाउने विषयमा छलफल भएको चर्चा पनि चल्यो। तर कांग्रेसका सह महामन्त्री प्रकाश रसाइलीले भने सुदूरपश्चिम प्रदेशमा अहिलेकै सत्ता गठबन्धन कायम रहने दाबी गरे।

शनिबारदेखि धनगढीमा हुने कांग्रेसको प्रदेश स्तरीय चुनावी समीक्षा कार्यक्रमको बारेमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले तत्काल सरकार नढल्ने सत्ता गठबन्धनमा पनि कुनै हेरफेर नहुने स्पष्ट पारे। रसाइलीले मुख्यमन्त्रीका बारेमा पार्टीमा कुनै छलफल नभएको समेत बताए। 

वैशाख २५, २०८३ शुक्रबार १८:४७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।