सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, वरिष्ठ नेताको जिम्मेवारी पाउने
काठमाडौं : प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्का सदस्य सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच पार्टी अध्यक्ष हर्क साम्पाङ राईले किराँतीलाई स्वागत गर्दै पार्टी प्रवेश गराए।
वामपन्थी दलहरूसँग एकता प्रक्रियामा अघि बढेपछि तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट अलग भएका उनी त्यसको केही समयमा प्रगतिशील लोकतान्त्रिक पार्टी गठनमा सक्रिय बने। उक्त पार्टीको अध्यक्ष परिषद् सदस्य समेत रहेका किराँतीले चुनावी पराजय भोग्न परेपछि उक्त पार्टीसमेत परित्याग गरे।
किराँतीलाई श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बनाउने समझदारी भएको भनिएको छ। साथै,उनीसँगै पार्टी प्रवेश गरेका नेता कार्यकर्ताहरूलाई पार्टीको सांगठनिक संरचनामा एक सचिव र १५ केन्द्रीय सदस्यको जिम्मेवारी दिने सहमति भएको छ।
पार्टी प्रवेशका क्रममा किराँतीले आफ्नो पुरानो दल माओवादी केन्द्रमा आन्तरिक लोकतन्त्रको अभाव रहेको र नेतृत्वले फरक मत राख्न समेत निषेध गरेका कारण नयाँ राजनीतिक बाटो रोज्नुपरेको उल्लेख गरे। पार्टी र सत्ता सञ्चालनमा अप्राकृतिक हस्तक्षेप बढेकाले पुरानो नेतृत्वसँग सँगै जान नसकिने निष्कर्षमा आफू पुगेको उनको भनाइ थियो।
पुराना राजनीतिक दलहरूमा नेतृत्वको देवत्वकरण गर्ने प्रवृत्ति हाबी भएको र दलहरू बिचौलियाको घेराबन्दीमा फसेकाले मुलुकले निकास पाउन नसकेको उनको तर्क थियो।
उनले अबको राजनीतिक मार्गचित्र प्रकृति, संस्कृति र प्रविधिको उचित समायोजनमा आधारित हुनुपर्ने धारणा राखे। देशको समृद्धिका लागि पुँजीको विकास अनिवार्य रहेको र श्रम संस्कृति पार्टीले सोही दर्शनलाई मुख्य कार्यदिशा बनाउनेमा उनले विश्वास व्यक्त गरे।
किराँतीले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राज्यका अंगहरू, विशेष गरी न्यायालयमाथि हस्तक्षेप भइरहेको टिप्पणी गरे। सरकारको पछिल्लो शैलीलाई अनुदारवादी राजनीतिक चिन्तनको संज्ञा दिँदै उनले यस्ता प्रवृत्ति लामो समय नटिक्ने उल्लेख गरे।
वैशाख २५, २०८३ शुक्रबार १८:१०:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।