लिपुलेक-कालापानीमा सडक विस्तार र सीमा व्यापार रोक्न सरकारको आग्रह

लिपुलेक-कालापानीमा सडक विस्तार र सीमा व्यापार रोक्न सरकारको आग्रह

काठमाडौं : सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र आफ्नो अभिन्न भूभाग भएको अडान दोहोर्याउँदै ती क्षेत्रमा कुनै पनि गतिविधि नगर्न भारत र चीनलाई कूटनीतिक माध्यमबाट आग्रह गरेको छ। 

परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाली भूमि हुँदै मानसरोवर यात्रा सञ्चालन गर्ने भनिएको विषयमा सरकारले दुवै छिमेकी मुलुकलाई आफ्नो स्पष्ट र आधिकारिक धारणा पुनः अवगत गराइसकिएको जानकारी दिए।

नेपालले यसअघि नै २०८३ वैशाख २० गते यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको उनले उल्लेख गरे। उनले भने, "लिपुलेकका सन्दर्भमा हाम्रो धारणा हामीले सार्वजनिक गरेका छौं। नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सन्दर्भमा हामीले २०८३ वैशाख २० गते हाम्रा धारणा सार्वजनिक गरेका छौं। लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णतया स्पष्ट अडिक रहेको उल्लेख गरेका छौं।"

क्षेत्रीले अगाडि थपे, "नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट धारणा राख्दै भारत र चीनलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराइसकेको छ। सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण वा विस्तार, सीमा व्यापार जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आइरहेको छ। साथै लिपुलेक क्षेत्र नेपालको भूभाग रहेको विषयमा मित्र राष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकेको छौं।"

त्यसैगरी, लिपुलेक क्षेत्र नेपालको भूभाग रहेको विषयमा मित्र राष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइएको मन्त्रालयले जनाएको छ।

वैशाख २५, २०८३ शुक्रबार १५:२५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।