मन्त्रिपरिषद् निर्णय : विदेशस्थित १५ जना अवैतनिक वाणिज्यदूत पदमुक्त, वैशाख २८ गते संसद्मा राष्ट्रपतिको सम्बोधन
काठमाडौं : सरकारले विदेशस्थित १५ जना नेपाली अनररी कन्सुल जनरल तथा कन्सुलहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ।
संवत् २०८३ साल वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
यसैगरी, सरकारले आगामी वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने निर्णय पनि गरेको छ।
मन्त्रिपरिषद्ले वैशाख २८ गते सोमबार दिउँसो ४ बजे संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकलाई सम्बोधन गर्न सम्माननीय राष्ट्रपतिसमक्ष अनुरोध गर्ने निर्णय गरेको हो।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिले संयुक्त बैठकलाई सम्बोधन गर्ने अभ्यास छ।
यसका अलावा मन्त्रिपरिषद् बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनसँग सम्बन्धित दुईवटा महत्त्वपूर्ण महासन्धि तथा प्रोटोकल अनुमोदनका लागि संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको छ।
जस अनुसार अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी २०१४ को प्रोटोकल नं. २९ संसद्मा पेस गरिनेछ भने अन्तर्राष्ट्रिय श्रम सङ्गठनकै श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ नं. ८१ पनि अनुमोदनका लागि संघीय संसद्मा पेश गर्न सरकारले स्वीकृति दिएको छ।
वैशाख २५, २०८३ शुक्रबार १२:५०:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।