मुस्ताङमा सेनाको ‘हाइअल्टिच्युड’ उद्धार अभ्यास

मुस्ताङमा सेनाको ‘हाइअल्टिच्युड’ उद्धार अभ्यास

मुस्ताङ : उच्च हिमाली क्षेत्रमा हुने सम्भावित दुर्घटना र जोखिमपूर्ण परिस्थितिमा तत्काल खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाले मुस्ताङमा दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु गरेको छ।

जोमसोमस्थित इन्द्रबक्स गणको आयोजनामा बिहीबारदेखि यो नमुना अभ्यास सञ्चालन गरिएको हो।

उच्च हिमाली भेगमा अक्सिजनको कमी, अत्यधिक चिसो र कठिन भौगोलिक बनावटका कारण हुने दुर्घटनाहरूमा प्राविधिक सीप र कलाको प्रयोग गरी मानवीय क्षति न्यूनीकरण गर्नु यस अभ्यासको लक्ष्य रहेको छ।

इन्द्रबक्स गणका गणपति प्रमुख सेनानी गौरवध्वज खाँडका अनुसार यसले खोज र उद्धारमा खटिने सैनिकहरूको क्षमता अभिवृद्धि गर्नेछ।

मुस्ताङको इन्द्रबक्स गण, मनाङको भैरवी दल गुल्म र सैनिक उच्च शिखर शिक्षालयका गरी ५५ जनाभन्दा बढी जनशक्ति यो अभ्यासमा सहभागी छन्।

पहिलो दिन जोमसोम नजिकैको विशाल चट्टानी पहाडमा डोरीको सहायताले ‘रक क्लाइम्बिङ’ र उद्धारको अभ्यास भयो भने दोस्रो दिन आज समुद्री सतहदेखि ४ हजार मिटर उचाइमा रहेको हिमनदी इलाकामा हिउँपहिरो र खोंचमा फसेका पदयात्रीको खोज तथा उद्धारको कृत्रिम अभ्यास हुनेछ।

पश्चिमी पृतनाका पृतनापति उपरथि भोलानाथ थापा, सहायक रथि विजय केसीलगायत उच्च सैनिक अधिकारीहरूले अभ्यासको स्थलगत अवलोकन गर्नुभएको थियो। कार्यक्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रतिनिधिहरूको समेत उपस्थिति थियो।

हिमाली क्षेत्रमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सुरक्षा सुनिश्चित गर्न र दुर्गम भेगमा हुने प्राकृतिक विपद्मा सेनाको सक्रियतालाई थप व्यावसायिक बनाउन यो अभ्यास फलदायी हुने विश्वास गरिएको छ।

वैशाख २५, २०८३ शुक्रबार ०९:२३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।