ढोरपाटनमा पहिलोपटक हिउँचितुवा गणना : ५६ स्थानमा क्यामरा जडान

ढोरपाटनमा पहिलोपटक हिउँचितुवा गणना : ५६ स्थानमा क्यामरा जडान

बागलुङ : नेपालको एक मात्र सिकार आरक्ष 'ढोरपाटन'मा पहिलोपटक वैज्ञानिक पद्धतिबाट हिउँचितुवाको गणना सुरु गरिएको छ।

आरक्षको उच्च हिमाली भेगमा हिउँचितुवाको यकिन सङ्ख्या पत्ता लगाउन ५६ स्थानमा स्वचालित सेन्सर क्यामरा जडान गरिएको हो।

आरक्षका १५ जना प्राविधिक तथा कर्मचारी सम्मिलित तीन टोलीले १५ दिन लगाएर ३,२०० देखि ५,५०० मिटरको उचाइमा क्यामरा जडान गरेका हुन्।

आरक्षका रेन्जर सागर सुवेदीका अनुसार सेङ, सुनदह, दोगाडी, घुस्तुङ, बार्से र फागुने सिकार ब्लकमा क्यामरा राखिएका छन्।

क्यामरा ट्र्यापिङमार्फत ४५ दिनसम्म कैद गरिएका तस्बिरका आधारमा शरीरको धब्बा मिलाएर छुट्टाछुट्टै चितुवाको पहिचान गरिनेछ।

यस्तै हिउँचितुवाको दिसा परीक्षण, पदचिह्न र सङ्केत सर्वेक्षणबाट पनि गणनालाई थप व्यवस्थित बनाइनेछ।

बागलुङ, म्याग्दी र रुकुममा फैलिएको १,३२५ वर्ग किलोमिटर क्षेत्रको यस आरक्षमा वैशाख ११ देखि क्यामरा राख्न सुरु गरिएको थियो।

प्रत्येक १५ दिनमा क्यामराको ब्याट्री र मेमोरी कार्ड परिवर्तन गरिने र ४५ दिनपछि सबै तथ्याङ्क सङ्कलन गरी अन्तिम गणना गरिने आरक्ष कार्यालयले जनाएको छ।

राखेका क्यामराहरूले उच्च हिमाली भेगको चुनौतीपूर्ण भूगोलमा हिउँचितुवाको बासस्थान र गतिविधिका महत्त्वपूर्ण दृश्य कैद गर्ने अपेक्षा गरिएको छ।

वैशाख २५, २०८३ शुक्रबार ०७:३९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।