खागको कारोबार भइरहेको सूचनापछि प्रहरीको कारबाही; दरबारमार्गको रेस्टुरेन्टबाट तीन जना पक्राउ

खागको कारोबार भइरहेको सूचनापछि प्रहरीको कारबाही; दरबारमार्गको रेस्टुरेन्टबाट तीन जना पक्राउ

काठमाडौं : काठमाडौंको दरबारमार्गस्थित एक रेस्टुरेन्टबाट गैँडाको खाग जस्तो देखिने वस्तुसहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। 

रेष्टुरेन्टमा बसी गैँडाको खागको कारोबार गरिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दरबारमार्गमा रहेको ओरिएन्ट क्याफेबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२४ न्युरोड बस्ने ५० वर्षीय संजयमान सिंह श्रेष्ठ, तनहुँको ऋषिङ्ग गाउँपालिका-५ घर भई हाल काठमाडौं-३ बाँसबारी बस्ने ४५ वर्षीय रामहरी गिरी र पाल्पाको माथागढी गाउँपालिका-१ घर भई हाल सिद्धार्थनगर-७ बस्ने ६० वर्षीय रामेश्वर पन्थी रहेका छन्। 

रेस्टुरेन्टको भुइँतलामा शंकास्पद रूपमा बसिरहेका उनीहरूको खानतलासी गर्दा श्रेष्ठले बोकेको झोलाबाट उक्त वस्तु फेला परेको प्रहरीले जनाएको छ। श्रेष्ठले बोकेको सुन्तला रङको हाते झोलाभित्र अर्को हरियो झोला र त्यसभित्र सेतो-खैरो बुट्टे कुर्थामा लुकाएर राखिएको अवस्थामा उक्त वस्तु बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

गैँडाको खाग जस्तो देखिने वस्तुको तौल गर्दा १.०७५ ग्राम रहेको छ। प्रहरीले उनीहरूको साथबाट चार मोबाइल र बा.६४ प ६२२४ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल समेत बरामद गरेको छ। उनीहरू तीनै जनालाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

वैशाख २४, २०८३ बिहीबार २२:२५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।