सर्वोच्चमा रोष्टर मिचेर प्रधानन्यायाधीश सिफारिस, सपना छाडेर शर्माको पक्षमा चार मत

सर्वोच्चमा रोष्टर मिचेर प्रधानन्यायाधीश सिफारिस, सपना छाडेर शर्माको पक्षमा चार मत

काठमाडौं : भावी प्रधानन्यायाधीशका लागि सर्वोच्चकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम पठाएकोमा रोष्टर नाघेर चौथो नम्बरका शर्माको नाम सिफारिस भयो।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत बहुमतको नयाँ विधि ल्याउँदा नै रोष्टर भत्कने शंका थियो। त्यसको पुष्टि गर्दै कायममुकायमको रूपमा कार्यरत र रोष्टरमा पहिलो सूचीमा रहेकी मल्ल सिफारिसमा परिनन्।

प्रधानमन्त्री वालेन्द्र शाहले रोष्टर नभई विज्ञताको आधारमा नियुक्ति हुने भन्दै शर्माको नाम सिफारिस गरेका थिए।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रतिनिधिसभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे रोष्टरको पक्षमा उभिए पनि ६ मध्ये चार जनाले रोष्टरभन्दा बाहिर गएर निर्णय गरे। दुई जनाले नोट अफ डिसेन्ट लेखे।

बैठकमा सभामुख डोलप्रसाद अर्याल, उपसभामुख रूवी कुमारी र कानूनमन्त्री सोविता गौतमले प्रधानमन्त्रीलाई साथ दिए। रूवी श्रम संस्कृति पार्टीबाट रास्वपाको समर्थनमा उपसभामुख भएकी हुन्। बाँकी एकै दलका हुन्।

मल्लमाथि एमाले निकटको आरोप लाग्ने गरेको थियो। न्यायाधीश नियुक्ति अगाडि उनी एमालेप्रति लोयल देखिए पनि न्यायाधीशको रूपमा भने विवादमा आइनन्। रोष्टरअनुसार सिफारिस भएको भए उनी सर्वोच्चको दोस्रो महिला प्रधानन्यायाधीश हुन्थिन्।

शर्माको नाम सिफारिस भए पनि संसदीय सुनुवाइबाट अनुमोदन हुन बाँकी छ। तर संसदीय समितिमा पनि रास्वपाको बहुमत छ। ६ मध्ये तीन जनाको बहुमत मान्ने अध्यादेशको न्यायिक परीक्षण भएको छैन।

वैशाख २४, २०८३ बिहीबार २०:५७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।