प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस

प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस

काठमाडौं : संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मालाई सिफारिस गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'को अध्यक्षतामा बिहीबार बसेको परिषद्को बैठकले शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

तत्कालीन प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अनिवार्य अवकाश पाएपछि सर्वोच्च अदालत हाल कायममुकायमको भरमा चलिरहेको छ। वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले हाल कामु प्रधानन्यायाधीशका रूपमा न्यायालयको नेतृत्व गरिरहेकी छन्।

न्याय परिषद्ले यसअघि प्रधानन्यायाधीशका लागि योग्यता पुगेका सर्वोच्च अदालतका ६ जना स्थायी न्यायाधीशको नामावली संवैधानिक परिषद्मा पठाएको थियो। 

उक्त सूचीमा सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम समावेश थियो। संवैधानिक परिषद्ले न्याय परिषद्को सोही रोष्टरमा वरीयताको चौथो स्थानमा रहेका न्यायाधीश शर्मालाई भावी प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो।

संवैधानिक व्यवस्था अनुसार अब परिषद्को यो सिफारिस संसदीय सुनुवाइ समितिमा पठाइनेछ। समितिले सुनुवाइ प्रक्रिया पूरा गरी नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने प्रावधान छ। 

वैशाख २४, २०८३ बिहीबार १९:२१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।