कीर्तिपुरमा युवकको हत्या गरेको आरोपमा तीन जना पक्राउ
काठमाडौं : कीर्तिपुरमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार दिउँसो भएको उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरूको विवरण सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरूमा अछामको साँफेबगर नगरपालिका-४ घर भई कीर्तिपुर-९ भाजंगल बस्ने २५ वर्षीय महेन्द्र शाह, कैलालीको बर्दगोरिया गाउँपालिका-४ घर भई कीर्तिपुर-१० पाँगा दोबाटो बस्ने २३ वर्षीय रवीन्द्र धामी र कैलालीकै घोडाघोडी नगरपालिका-१ घर भई कीर्तिपुर-८ बस्ने २२ वर्षीय रोशन बिष्ट रहेका छन्।
प्रहरीका अनुसार बुधबार दिउँसो साढे २ बजेतिर कीर्तिपुर नगरपालिका-१० पोडेटोलस्थित चिया सागर नजिक गुल्मीको धुर्कोट नगरपालिका- ७ घर भई हाल कीर्तिपुर बस्ने २२ वर्षीय विपिन घिमिरेमाथि धारिलो हतियार प्रहार भएको थियो। धारिलो हतियार प्रहारबाट घाइते घिमिरेको मृत्यु भएपछि घटनामा संलग्न तीनै जनालाई पक्राउ गरेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार घटनामा संलग्न देखिएका तीनै जनालाई प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेकाहरू विरुद्ध काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिएर ‘कर्तव्य ज्यान’को कसुरमा थप अनुसन्धान अघि बढाइएको छ।
वैशाख २४, २०८३ बिहीबार १९:०६:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।