सरकारलाई बुटवलका सुकुमबासीको प्रश्न : ‘हाम्रो मत वैध, हामी कसरी अवैध ?’
बुटवल : सुकुमबासी बस्तीमा सरकारले डोजर चलाएको विरोधमा रुपन्देहीका सुकुमबासी र अव्यवस्थित बसोबासीहरूले बुटवलमा प्रदर्शन गर्दै आफ्नो मत वैध तर आफूहरु कसरी अवैध भनेर सरकारसँग प्रश्न सोधे।
उनीहरूले बस्ती भत्काउने काम रोक्न र विगतमा नापजाँच भइसकेका जग्गाको लालपुर्जा तत्काल उपलब्ध गराउन माग गरे। घोषित चरणबद्ध आन्दोलनको कार्यक्रमअन्तर्गत भूमिहीन सुकुमबासी तथा अव्यवस्थित संघर्ष समितिको आह्वानमा बिहीबार बुटवलमा प्रदर्शन गरिएको छ।
राजमार्ग चौराहाबाट सुरु भएको विरोध प्रदर्शन मिलनचोक-अस्पताल लाइन हुँदै ट्राफिक चोकतर्फ अघि बढेको थियो। प्रदर्शनको क्रममा ‘हाम्रो कर वैध, हाम्रो मत वैध, हामी कसरी अवैध बालेन सरकार ?’ जस्ता सरकारविरुद्ध चर्का नारा लगाइएको थियो।। ‘डोजर आतंक’को चर्को विरोध गर्दै उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'को राजीनामा मागे।

ट्राफिक चोकमा पुगेर कोणसभा हुने र प्रदर्शनकै क्रममा जिल्लाका स्थानीय तह तथा प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाइने कार्यक्रम रहेको भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित संघर्ष समितिले जनाएको छ। प्रदर्शनलाई ध्यानमा राखेर स्थानीय प्रशासनले बुटवलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।

वैशाख २४, २०८३ बिहीबार १६:२८:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।