सडक विस्तारको नाममा उठीवासको त्रास, वीरगन्जमा मानव साङ्लो बनाएर आन्दोलन

सडक विस्तारको नाममा उठीवासको त्रास, वीरगन्जमा मानव साङ्लो बनाएर आन्दोलन

वीरगन्ज : वीरगन्जमा सात सयभन्दा बढी नागरिकलाई घरबारविहीन बनाउने गरी भइरहेको त्रिभुवन राजपथ सडक विस्तारको विरोधमा स्थानीयले प्रदर्शन गरेका छन्। 

वीरगन्ज बचाउ संघर्ष समिति र वीरगन्ज युवा संघर्ष समितिको संयुक्त आयोजनामा बिहीबार बिहान घण्टाघरदेखि आदर्शनगर चोकसम्म मानव साङ्लो बनाएर प्रदर्शनमा उत्रिएका स्थानीयले प्रशासनले हचुवाका भरमा रेखांकन गरी आफूखुसी घर भत्काउन लागेको आरोप लगाएका छन्।

सहरको मध्य भाग भएर गएको त्रिभुवन राजपथमा भइरहेको २५-२५ मिटर सडक विस्तारको कार्य अगाडि बढाइएको छ। प्रदर्शनमा सहभागी वीरगन्ज महानगरपालिकाका प्रथम नगरप्रमुख (मेयर) विजयकुमार सरावगीले सडक विस्तारमा वीरगन्जवासीमाथि विभेद गरिएको आरोप लगाए।

त्रिभुवन राजपथअन्तर्गत पर्ने हेटौँडामा २५ गज सडक विस्तार गरिएको भए पनि वीरगन्जमा २५ मिटर विस्तार गरेर सरकारले स्थानीयमाथि अन्याय गरेको उनको भनाई छ। सडक विस्तार कुन र कहिलेको नक्साका आधारमा गरिएको हो भन्ने विषय स्पष्ट नगरी प्रशासनले आफूखुसी रेखांकन गरिरहेको सरावगीको आरोप छ।

उनले त्रिभुवन राजपथको नक्साका आधारमा २५ गज सडक विस्तार हुनुपर्नेमा वीरगन्जवासीमाथि अन्याय गर्दै हचुवाका भरमा सडक विस्तार भइरहेको बताए।

विरोध प्रदर्शनमा सहभागी वीरगन्ज बचाउ संघर्ष समितिका अध्यक्ष जवाहर गुप्ताले वीरगन्जको घण्टाघर चोकदेखि माइस्थानसम्मको क्षेत्रमा गरिएको सडक रेखांकन अस्पष्ट र विभेदकारी रहेको आरोप लगाए। उनले कुन नक्सा र सडकको मध्य भागलाई आधार मानिएको हो भन्ने स्पष्ट नगरी घर भत्काउने काम भइरहेको दाबी गरे।

प्रदर्शनमा स्थानीय वृद्धदेखि बालबालिका, युवा तथा महिलाको उल्लेख्य सहभागिता रहेको थियो। सडक विस्तारका कारण ७ सयभन्दा बढी व्यक्ति घरबारविहीन हुने अवस्था रहेको उनीहरूको भनाई छ।  

वैशाख २४, २०८३ बिहीबार १५:५५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।