सांसद खरेलको प्रतिवाद : 'गल्ती गरेको छैन, डराउँदिन'

सांसद खरेलको प्रतिवाद : 'गल्ती गरेको छैन, डराउँदिन'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वसञ्चारमन्त्री जगदीश खरेलले आफूमाथि नियोजित रूपमा मिडिया ट्रायल भइरहेको बताएका छन्।

खरेल सञ्चारमन्त्री हुँदा स्मार्ट सेल प्रकरणमा संलग्न रहेको भनी समाचार प्रकाशित भएपछि उनले बिहीबार सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका हुन्।

खरेलले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रसारित सामग्रीहरूलाई 'फेक न्युज' को संज्ञा दिएका छन्। हाल स्विजरल्याण्डमा रहेका खरेलले आफूले कुनै पनि गलत कार्य नगरेको लेखेका छन्।

"अहिले म कार्यक्रमको सिलसिलामा स्विजरल्याण्डमा छु। गल्ती गरेको छैन। त्यसैले अलिकति पनि डर छैन," उनले भनेका छन्, "सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ। मेरो इमान नै मेरो गन्तव्यको लागि पर्याप्त छ।"

समाचारमा नाम जोडेर आफ्नो चरित्र र राजनीतिक भविष्यमाथि प्रहार गर्न खोजेको उनको आरोप छ। खरेलले भनेका छन्, "यस्ता भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहारले मेरो चरित्र र राजनीतिक भविष्यमाथि प्रहार गर्छु भनेर नसोचे हुन्छ।"

उनले भ्रामक समाचार फैलाउनेहरू विरुद्ध कानुनी उपचार खोज्ने चेतावनी समेत दिएका छन्। खरेलले आफ्ना समर्थकहरूलाई फेक न्युजको भ्रममा नपर्न आग्रहसमेत गरेका छन्। 

वैशाख २४, २०८३ बिहीबार १५:१०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।