नियम उल्लंघन गर्ने दुई कम्पनीलाई बीमा प्राधिकरणले गर्यो जरिवाना
काठमाडौं : नेपाल बीमा प्राधिकरणले बीमा ऐन तथा प्राधिकरणबाट जारी भएका निर्देशनहरूको उल्लंघन गरेको भन्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीलाई कारबाही गरेको छ।
प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै यी दुई कम्पनिले नियमको पालना नगरेको भन्दै नगद जरिवानासहित नियमनको कारबाही गरेको हो।
प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले सम्पत्ति बीमामा तोकिएको विमा शुल्कमा छुट, रिहायत, कटौती तथा सहुलियत दिएको पाइएपछि दुई लाख रूपैयाँ जरिवाना गरेको छ।
प्राधिकरणका अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्सले 'सम्पत्ति बीमा निर्देशन, २०८०' को दफा २५(२) विपरित कार्य गरेको पाइएको हो।
यस्तै, लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीले स्वामित्व परिवर्तनसम्बन्धी व्यवस्था पालना नगरेको पाइएपछि पाँच हजार रूपैयाँ जरिवाना गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङले 'पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका, २०७८' को दफा १५ को उपदफा (१) र (२) को व्यवस्था पालना नगरेको पाइएको हो।

वैशाख २४, २०८३ बिहीबार १३:२९:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।