डोजर चलेको दुई दिनपछि मात्र वडामा पुग्यो ‘माइकिङ गर्न’ अनुरोध गरिएको पशुपति क्षेत्र विकास कोषको पत्र
काठमाडौं : पशुपति क्षेत्र विकास कोषको लापरवाही र सरकारी निकायबीचको समन्वय अभावको एउटा नमुना सार्वजनिक भएको छ।
कोषले पशुपति क्षेत्रका घर टहरा भत्काउन सहयोग माग्दै र स्थानीयलाई माइकिङ गर्न लेखेको पत्र, घरटहरा भत्काइसकेको दुई दिनपछि मात्र सम्बन्धित वडा कार्यालयमा दर्ता भएको पाइएको छ।
कोषले तिलगंगा क्षेत्रका घर टहरा खाली गराउन काठमाडौं महानगरपालिकासँग सहयोग माग्दै वैशाख १७ गते पत्र काटेको थियो। कोषका सदस्य-सचिवद्वारा हस्ताक्षरित उक्त पत्रमा वैशाख १७ गते साँझ नै माइकिङ गर्न र वैशाख १९ गते डोजर चलाउन भनिएको छ।
तर, अचम्मको कुरा के छ भने, वैशाख १९ गते बिहान महानगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेर डोजर लगाई संरचना भत्काइसक्दा पनि उक्त पत्र काठमाडौं महानगरपालिका वडा नम्बर ८ को कार्यालयमा पुगेकै थिएन।
वडा कार्यालयको दर्ता चलानी छापअनुसार उक्त पत्र वैशाख २१ गते मात्र दर्ता भएको छ। त्यति मात्र होइन, पत्रको माथिल्लो दायाँ भागमा रहेको महानगरपालिकाको दर्ता मिति पनि ‘०८१/०१/२१’ नै उल्लेख छ।
पत्रमा के थियो ?
पत्रमा उल्लेख भएअनुसार, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको अध्यक्षतामा वैशाख १५ गते बसेको कोष सञ्चालक परिषद्को बैठकले तिलगंगाको तिलगंगा गेटदेखि रामघाट जाने बाटो पश्चिमका घरजग्गा खाली गराउने निर्णय गरेको थियो। उक्त जग्गा अधिग्रहण भई मुआब्जासमेत वितरण भइसकेको कोषले जनाएको छ।
सोही निर्णय कार्यान्वयनका लागि कोषले महानगरलाई लेखेको पत्रमा भनिएको छ- ‘मिति २०८१/०१/१९ गते विहान ७:०० बजेदेखि कार्य सुरू गरिने हुँदा तहाँ महानगरबाट आज मिति २०८१/०१/१७ गते साझ ५ बजे माइकिङ गरि सूचना गर्न र कार्य गर्ने दिनका लागि ट्रक २ वटा, डोजर २ वटा सहित आवश्यक प्राविधिक जनशक्ति र महानगरबलका सुरक्षाकर्मी खटाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।’

पत्रको व्यहोरा हेर्दा कोषले स्थानीयलाई घरटहरा भत्काउनुअघि महानगरमार्फत माइकिङ गरेर पूर्वसूचना दिन खोजेको देखिन्छ। तर, माइकिङ गर्न अनुरोध गरिएको पत्र नै भत्काएको दुई दिनपछि २१ गते मात्र वडा कार्यालयमा पुगेको थियो।
वडासचिव के भन्छन्?
तर वडासचिव उमेश कुमार मेहता भने पत्र १७ गते नै आएको दाबी गर्छन्। वडाध्यक्षले तोक लगाउने भएपछि सोही दिन पत्र आए पनि दर्ता चैँ २१ गते भएको उनी बताउँछन्।
उकेरासँगको कुराकानीमा उनले भने, ‘पत्र १७ गते शुक्रबार बेलुका ५ बजे अफिस बन्द हुने समयमा आएको थियो। दर्ता चाहीँ २१ गते मात्रै भयो। पत्र कि मैले दर्ता गर्ने हो, कि वडा अध्यक्षले दर्ता गर्ने हो। वडा अध्यक्षज्यूले मैले नै तोक लगाउँछु भनेपछि त्यो दर्ता भएन।’
यो पत्र बोधार्थ मात्र भएको त्यसअघि नै काठमाडौं महानगरपालिकामा पत्र गइसकेको उनले दाबी गरे।
उनले अगाडि भने, ‘त्यो पत्र बोधार्थ हो क्या! अफिसियल पत्र काठमाडाैँ महानगरपालिका कमलादीलाई लेखेको छ। त्यही भएर त्यसको जानकारी आएको हो। तर हाम्रोमा दर्ता चाहिँ २१ गते मात्रै भएको हो।’
वैशाख २४, २०८३ बिहीबार ११:४०:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।