संसद्मा विद्युतीय हाजिरीको तयारी, बायोमेट्रिक विवरण दिन सांसदहरूलाई बोलाइयो
काठमाडौं : सङ्घीय संसद् बैठकमा अब विद्युतीय हाजिरी (ई-हाजिरी) प्रणाली लागू हुने भएको छ।
यसका लागि संसद् सचिवालयले सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन र औपचारिक तस्बिर खिच्ने प्रक्रिया अगाडि बढाएको छ।
सचिवालयले बिहीबार एक सूचना जारी गर्दै सबै सांसदलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन आग्रह गरेको छ।
तस्बिरसमेत खिच्नुपर्ने भएकाले सांसदहरूलाई सङ्घीय संसद्को लोगो अङ्कित औपचारिक पोसाकमा आउन अनुरोध गरिएको छ।
सचिवालयले संसदीय समितिअनुसार बायोमेट्रिक र तस्बिर खिचाउने समयतालिका तोकेको छ।
बिहीबार बिहान १० देखि १२ बजेसम्म सार्वजनिक लेखा समितिको सभाकक्षमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति तथा विकास, आर्थिक मामिला र सुशासन समितिका सदस्यहरूलाई बोलाइएको छ।
सोही समयमा अर्थ समितिको सभाकक्षमा अर्थ समिति र विधायन व्यवस्थापन समितिका सदस्यहरूलाई पनि डाकिएको छ।
दिउँसो २ देखि ४ बजेसम्म सार्वजनिक लेखा समितिको सभाकक्षमा उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूलाई तथा अर्थ समितिको सभाकक्षमा कानुन, न्याय तथा मानवअधिकार समितिका सदस्यहरूलाई बोलाइएको छ।
त्यसैगरी शुक्रबार बिहान १० देखि १२ बजेसम्म सार्वजनिक लेखा समितिको सभाकक्षमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति तथा सङ्घीयता सबलीकरण र राष्ट्रिय सरोकार समितिका सदस्यहरू तथा अर्थ समितिको सभाकक्षमा पूर्वाधार विकास समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरूलाई डाकिएको छ।
शुक्रबार दिउँसो २ देखि ४ बजेसम्म सार्वजनिक लेखा समितिको सभाकक्षमा महिला तथा सामाजिक मामिला समितिका सदस्यहरू र अर्थ समितिको सभाकक्षमा राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूलाई बोलाइएको छ।
त्यसैगरी वैशाख २८ गते सार्वजनिक लेखा समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरूलाई सचिवालयले तोकेको छुट्टाछुट्टै कक्षमा उपस्थित हुन सूचित गरिएको छ।
वैशाख २४, २०८३ बिहीबार १०:०३:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।