वसन्त ऋतुमा सेताम्मे मुस्ताङ

वसन्त ऋतुमा सेताम्मे मुस्ताङ

मुस्ताङ : मुस्ताङ भ्रमणको सबैभन्दा अनुकूल याम वसन्त ऋतु चलिरहँदा यहाँ बेमौसमी हिमपात भएको छ।

हिउँदयाम सकिएर गर्मी बढ्ने समय भइसक्दा पनि बुधबार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र आसपास हिउँ परेपछि यहाँको जनजीवन प्रभावित बनेको छ।

मुक्तिनाथस्थित हाई अल्टिच्युड ट्रिटमेन्ट सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी सरोज घर्तीका अनुसार बुधबार मुक्तिनाथ क्षेत्रमा करिब एक घण्टाभन्दा बढी हिमपात भएको थियो।

‘हिउँ परेसँगै आसपासका नाङ्गा डाँडाकाँडा फेरि सेताम्मे भएका छन्’, उनलले भने।

बेमौसमी हिमपातका कारण मुक्तिनाथ दर्शनका लागि पुगेका भक्तजन तथा पर्यटकलाई यात्रामा असहज भएको छ।

मुक्तिनाथ क्षेत्रमा यस वर्ष परेको यो आठौं हिमपात हो। हिउँदयाम सकिएर पालुवा पलाउने र मौसम गुल्जार हुने समयमा हिउँ पर्नुलाई स्थानीय जानकारहरूले ‘जलवायु परिवर्तनको असर’का रूपमा विश्लेषण गरेका छन्।

वारागुङ मुक्तिक्षेत्र-१ का वडाध्यक्ष प्रमेश गुरुङले मौसम प्रतिकूल बन्दै बेमौसमी हिउँ पर्नु यहाँको कृषि र पर्यटन दुवैका लागि राम्रो सङ्केत नभएको बताए। उनका अनुसार यो हिमपातले विशेषगरी भर्खरै फुलेका स्याउका फूल र अन्य अन्नबाली नष्ट हुने जोखिम बढाएको छ।

वारागुङ मुक्तिक्षेत्र-१ अन्तर्गतका खिङ्गा, झारकोट, लुप्रा र पुराङ रानीपौवालगायतका गाउँमा भर्खरै मात्र हिउँदयामको बिदाइ र नयाँ यामलाई स्वागत गर्दै ‘धछ्याङ’ पर्व मनाइएको थियो। तर, पर्व मनाइसकेपछि परेको हिउँले स्थानीयलाई अचम्मित बनाएको छ।

यस वर्षको हिउँदयाममा पटक-पटक हिउँ परे पनि वैशाख महिनामै हिमपात हुनु अनौठो भएको वारागुङ-१, खिङ्गा गाउँका मुखिया ल्हाक्पाटसी गुरुङले बताए।

‘हिउँदयाममा पर्ने हिउँले कृषकलाई फाइदा नै गर्छ, तर अहिलेको बेमौसमी हिमपातले भने कृषि र पर्यटन दुवै क्षेत्रलाई नराम्रो असर पुर्याउँछ’, उनले भने।

वैशाख २४, २०८३ बिहीबार ०७:२८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।