अध्यादेश ल्याएपछि प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

अध्यादेश ल्याएपछि प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौं : राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश  जारी भएसँगै प्रधानमन्त्री एवं संवैधानिक परिषद्का अध्यक्ष वालेन्द्र शाहले परिषद्को बैठक बोलाएका छन्।

बैठक बिहीबार अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको परिषद्को सचिवालयले जनाएको छ। बैठकको मुख्य एजेन्डा ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको छ।

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने उक्त बैठकमा सहभागी हुन परिषद्का सम्पूर्ण सदस्यहरूलाई पत्राचारसहित आमन्त्रण गरिसकिएको छ।

बैठकमा प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधि सभाका प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारी सहभागी हुनेछन्।

संविधानअनुसार प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअगावै संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ।

तर निवर्तमान प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको पद रिक्त भइसक्दा पनि प्रधानन्यायाधीशको नाम सिफारिस नहुँदा अहिले सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वमा रहेको छ।

वैशाख २३, २०८३ बुधबार १४:१८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।