उद्योग वाणिज्य महासंघको नेतृत्व अञ्जनले सम्हाल्दा वस्तुगत उपाध्यक्षमा नरेशलाल विजयी

उद्योग वाणिज्य महासंघको नेतृत्व अञ्जनले सम्हाल्दा वस्तुगत उपाध्यक्षमा नरेशलाल विजयी

काठमाडौं :  नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको अधिकांश नतिजा सार्वजनिक भएको छ।

मंगलबार भएको मतदानको वस्तुगत, जिल्ला नगर र एसोसिएयटतर्फका महत्वपूर्ण पदहरूको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो। 

महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भएका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी शिव घिमिरेलाई ३ मतको झिनो अन्तरले पराजित गरे। श्रेष्ठले ६३ मत प्राप्त गर्दा घिमिरेले ६० मतमा चित्त बुझाए ।

वस्तुगत सदस्यतर्फ १३ जना निर्वाचित भएका छन्। निर्वाचित हुनेमा अरनिको राजभण्डारी, विदुर धमला, सागर ढकाल, रविन पुरी, राजकुमार कार्की, पशुपति देव पाण्डे, लिलेन्द्र प्रधान, भक्त बहादुर हमाल, नानिराज घिमिरे, संघर्ष विष्ट र होम प्रसाद घिमिरे छन्। वस्तुगतकै महिला सदस्यमा सुनिता न्हेम्हाफुकी विजयी भइन्। 

सुरज बन्जाडे, विप्लव अधिकारी, रघुनन्दन मारु र निराजन चलाउनेले समान ५०–५० मत प्राप्त गरेपछि गोलाप्रथा प्रणालीबाट दुई जना निर्वाचित सदस्य घोषणा गरिने तयारी छ।

जिल्ला नगर संघ तर्फको परिणाम

महासंघको जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन्। शर्माले ८७ र श्रेष्ठले ८० मत प्राप्त गरे। यस विधामा उम्मेदवारी दिएका उमेश डालमिया र कल्पना गैह्रै भने पराजित भए।

जिल्ला नगर खुल्ला सदस्यतर्फ १५ जना विजयी भएका छन्। विजयी हुनेहरूमा अर्जुन कुमार श्रेष्ठ, प्रयास कार्की, लक्ष्मण राज पौडेल, र छ्त्रधर आत्रेयसहित कृष्ण कटुवाल, मोहन प्रसाद श्रेष्ठ, सन्तोष खड्का, दिपक नेपाल, केशव प्रसाद भण्डारी, गोकुल श्रेष्ठ, हरि प्रसाद अर्याल, तारा बहादुर कार्की, शंकर गिरी, उज्ज्वल प्रसाद कसजु र सुदर्शन कार्की रहेका छन्। यसै विधाबाट महिला सदस्यमा गीता अमात्य र हीरा भट्टराई निर्वाचित भएका छन् ।

एसोसिएट सदस्यतर्फको परिणाम

महासंघको एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे विजयी भएका छन्।

एसोसिएट सदस्यतर्फको १७ सिटका लागि भएको निर्वाचनमा सचिन ढकाल एक हजार ३१८ मतसहित निर्वाचित भएका छन्। अन्य विजयी हुनेहरूमा हेमन्त गोल्छाले एक हजार २०२, अम्बिका प्रसाद पौडेलले एक हजार १८३, उज्ज्वल कुमार श्रेष्ठले एक हजार १४६ र  शक्ति कुमार बेगानीले एक हजार १४२ मत प्राप्त गरे। 

यस्तै ऋषि अग्रवालले एक हजार १२२, राजेश कुमार अग्रवालले एक हजार १८२, सुयस प्याकुरेलले एक हजार एक हजार ६९ , सुशील थापाले एक हजार ५४ मत पाए। यसैगरी, रामशरण भण्डारीले एक हजार ४३, बाबु काजी कार्की एक हजार ६, दिवश न्यौपाने ९९१, प्रियराज रेग्मी ९५४, ईश्वर बहादुर जि.सी. ९४५, सुरज उप्रेती ९०७, कृष्ण लाल महर्जन ८७४ र बटु लामिछाने ८६० मत ल्याएर विजयी भए।  

अन्य विधामा, द्विराष्ट्रिय सदस्यमा मनोज पौडेल विजयी भएका छन् भने वस्तुगत महासंघतर्फ सुनयना घिमिरे र विश्वनाथ खनालले जित हासिल गरेका छन्। महासंघको यो निर्वाचनले आगामी कार्यकालका लागि नयाँ नेतृत्वको खाका स्पष्ट पारेको छ।

नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित छाता संगठन, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) मा नयाँ नेतृत्वको कार्यभार औपचारिक रूपमा अञ्जन श्रेष्ठले सम्हालेका छन्। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षबाट स्वत: अध्यक्ष बन्ने प्रावधान रहेको छ।

महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो ३ वर्षे सफल कार्यकाल पूरा गरी पदबाट बिदा लिएका छन्।

वैशाख २३, २०८३ बुधबार १४:०७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।