रिलायन्स स्पिनिङ्ग मिल्सको नाफा १७.७ प्रतिशत घट्यो
काठमाडौं : नेपालकै ठूलो धागो उत्पादक कम्पनी रिलायन्स स्पिनिङ्ग मिल्सको नाफामा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १७.७ प्रतिशतले कमी आएको छ।
कम्पनीले हालै सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार, आम्दानीमा सामान्य सुधार देखिए पनि बढ्दो उत्पादन लागतका कारण नाफामा उल्लेखनीय गिरावट आएको हो।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले ७ अर्ब ४६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको ७ अर्ब ३९ करोड रुपैयाँको तुलनामा झिनो वृद्धि हो। तर, उत्पादन लागत बढ्दै ६ अर्ब ५१ करोड रुपैयाँ पुगेपछि यसको प्रत्यक्ष असर नाफामा परेको छ।
कम्पनीको खुद नाफा १७.७ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको चैतसम्म ३२ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु वर्षको सोही अवधिमा २६ करोड ६८ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ।
त्यस्तै, कुल मुनाफा पनि १ अर्ब २ करोड रुपैयाँबाट घटेर ९४ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ।
कम्पनीले ऊर्जा संकटलाई प्रमुख चुनौतीका रूपमा औंल्याएको छ। नेपाल विद्युत प्राधिकरणबाट भइरहेको अघोषित लोडसेडिङका कारण उत्पादन प्रभावित भइरहेको जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा नीतिगत परिवर्तन र अमेरिकी डलरको विनिमय दरमा हुने उतारचढावले कच्चा पदार्थको मूल्यमा असर पारेको कम्पनीले जनाएको छ। २२ करोड १० लाख रुपैयाँ वित्तीय खर्चले पनि नाफामा थप दबाब सिर्जना गरेको छ।
नाफामा गिरावट आए पनि कम्पनीको समग्र वित्तीय जग भने मजबुत देखिन्छ। हाल रिलायन्सको चुक्ता पूँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ अर्ब ५५ करोड रुपैयाँ सञ्चित छ।
वैशाख २३, २०८३ बुधबार ११:४६:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।